डोटीमा ४,५४७ मेट्रिक टन ‘खाद्यान्न सर्प्लस’

421

असोज ३०, डोटी ।
डोटीमा आर्थिक वर्ष २०७८/०७९ मा चार हजार पाँच सय ४७ मेट्रिक टन ‘खाद्यान्न सर्प्लस’ (बचत) रहेको देखिएको छ ।
४२ औं विश्व खाद्य दिवसका अवसरमा कृषि ज्ञान केन्द्र डोटीले आयोजना गरेको कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार डोटीको जनसंख्या २ लाख ५ हजार ६८३ रहेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उक्त जनसंख्याका लागि दैनिक २५० ग्रामका दरले ३९ हजार २८५ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने हुन्छ । तर डोटी जिल्लामा ४३ हजार ८३२ मेट्रिक टन खाद्यान्न उत्पादन भएको जनाईएको छ ।
धान, मकै, गहुँ, जौं, कोदो र फापरको उत्पादनका आधारमा खाद्यान्न वासलात निकाल्ने गरिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमूख नरेन्द्र पनेरुले बताए ।
सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र पहाडी ७ जिल्लामध्ये डोटीमा मात्रै खाद्यान्न बचत रहेको सरकारी तथ्याङ्क छ ।
तथ्याङ्कमा ‘खाद्यान्न सर्प्लस’ देखिए पनि डोटी जिल्लाभित्रको खाद्यान्न निकै थोरै मात्रामा निर्यात हुन्छ भने दिनहुँ जिल्लामा आयात हुने खाद्यान्नको भने कुनै लेखाजोखा गर्ने गरिएको पाईंदैन ।
खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमूख अतिथिका रुपमा बोल्दै डोटीका प्रमूख जिल्ला अधिकारी कल्पना श्रेष्ठले डोटी जिल्लालाई कृषिमा आत्म निर्भर र सक्षम जिल्ला बनाउन कृषि क्षेत्रमा क्रियाशील सम्पूर्ण सरकारी कार्यालयहरुले विशेष जोड दिनुपर्ने बताईन् ।
विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण गरिएको लकडाउन र भारतले लगाएको नाकाबन्दीको समयमा कृषिको महत्व झनै थाहा भएको भन्दै कृषि क्षेत्रको विकासमा सबैले लाग्नुपर्ने प्रजिअ श्रेष्ठले बताईन् ।
कृषि विकास निर्देशनालय, कृषि अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र सबै कार्यालय भएको जिल्ला भएर पनि डोटीमा ताजा तरकारी खान नपाईने अवस्था रहेको दुखेसो पोख्दै सिंचाई सुविधा भएका र सिंचाईको सम्भावना भएका सेती नदि आसपासका क्षेत्रमा सामुहिक वा सहकारीमार्फत व्यवसायिक तरकारी खेती गर्न किसानहरुलाई प्रेरित गर्न उनले आग्रह गरिन् ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र डोटी प्रमूख नरेन्द्र पनेरुले खाद्य सुरक्षाबारे नीतिगत व्यवस्था र कृषि विकास निर्देशनालय डोटीका कृषि अर्थ विज्ञ टेकेन्द्र सिं ऐरले नेपालमा खाद्य सुरक्षाको अवस्था, सुदूरपश्चिममा कृषिको अवस्था, विभिन्न जिल्लामा खाद्यान्न बाली लगाउने क्षेत्रफल, उत्पादन र उत्पादकत्वको अवस्था लगाएत विषयमा प्रस्तुतीकरण गरेका थिए ।
उत्पादन, पोषण र वातावरण सुधार, सुखी जीवनको आधार भन्ने मूल नाराका साथ मनाईएको खाद्य दिवस विशेष कार्यक्रममा कृषि क्षेत्रका विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.