चौथो गाउँको रूपमा जोरायलको सिराड गाउँ सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
मंसिर २१, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ को सिराड गाउँलाई वडाको तेस्रो र गाउँपालिकाको चौथो गाउँका रूपमा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ ।
युनिसेफ नेपाल र जोरायल गाउँपालिकाद्वारा संचालित खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) को सहयोगमा सिराड खानेपानी उपभोक्ता समितिको आयोजनामा आयोजित एक कार्यक्रमका बिच सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।
भूगोलको हिसाबले विकट बस्तीका रूपमा रहेको उक्त गाउँमा झण्डै ८ किलोमीटर टाढाको दुरी जोरायल ३ को रक्षडाबाट कूल ३३ लाख १८ हजार ३१० रुपैयाँको लागतमा योजना सम्पन्न भएको वास कार्यक्रमका फोकल प्वाइन्ट निर्मल कुमार भाटले जानकारी दिए ।
जोरायलको खैगाड गाउँलाई सुदूरपश्चिमकै पहिलो गाउँका रूपमा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको थियो भने त्यससङ्गै अवस्थी गाउँ, गाजरी गाउँलाई पनि यस अगावै सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिसकेको थियो ।
समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने विभिन्न सूचक पूरा गरि सिराड गाउँको कुँडी टोलका १७ घरपरिवार रहेको टोललाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको वास कार्यक्रमका सामाजिक परिचालक मेख बहादुर बोहराले बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले सिराड गाउँका बासिन्दालाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न सफल भएकोमा बधाई तथा धन्यवाद व्यक्त गर्दै उक्त गाउँका बाकी घरधुरीहरुलाई पनि निकट भविष्यमा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने गरि काम गर्ने प्रतिबद्धता जनाइन् ।
साथै सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भैसकेको टोललाई दिगोपनाको लागि ध्यान दिन विशेष अनुरोध गरिन ।
त्यस्तै जोरायल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नन्दराज भट्टले सिराड गाउँमा आफुहरुले गरेका कामहरु स्मरण गराउदै बाकी विकासका कामहरु निकट भविष्यमा पूरा गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
सिराड खानेपानी उपभोक्ता समिति अध्यक्ष योगेन्द्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोरायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द बहादुर बिष्ट, स्थानीय विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार लगाएत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।