सुदूरपश्चिममा सभामुख चयन प्रक्रिया गम्भिर मोडमा, सरकारमाथि नै नैतिक संकट

189

माघ २, कैलाली ।

सुदूरपश्चिम प्रदेश सभामा सत्तासाझेदार दलबीच बेमेल पैदा भएको छ। नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा प्रदेश सभामा दोस्रोपटक भएको निर्वाचनबाट पनि सभामुख चयन हुन सकेन। प्रदेश सभामा सात सिट रहेको उन्मुक्तिले मुख्यमन्त्रीमा गठबन्धनबाट एमालेका राजेन्द्रसिंह रावललाई समर्थन गरेको थियो।

सभामुखमा बहुमत जुटाउन नसकेपछि सत्तापक्ष नैतिक संकटमा परेको छ। संसद्मा विश्वासको मत नपाउँदै सरकार अल्पमतमा परेको भन्दै प्रतिपक्षीले मुख्यमन्त्री राजेन्द्रसिंह रावलको राजीनामा माग गरेको छ। नागरिक उन्मुक्तिको समेत समर्थनमा गत बुधवार मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत लिएका छैनन्।

प्रदेश सभाको बैठक स्थगित

सोमवारका लागि तय गरिएको प्रदेशसभाको बैठक मंगलवारसम्मका लागि स्थगित भएको छ। लगातार दुई पटकको मतदानमा पनि सभामुख चयन गर्न नसकेको सभामा सोमबार तेस्रो पटक पुनः मतदान गर्ने तालिका थियो। सोमवार राष्ट्रिय शोक परेकाले प्रदेशसभा बैठक सञ्चालन नगर्ने सर्वदलीय निर्णय भएको भन्दै मंगलवार पुनः मतदान गर्ने भन्दै बैठक स्थगित गरिएको हो। सोमवारभित्र सभामुख चयन नभए संवैधानिक जटिलता हुने कतिपयको तर्क छ। सोमवार प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिन पुगेको छ।

संवैधानिक व्यवस्था

नेपालको संविधानको धारा १८२ मा (१) मा ‘प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछन्,’ भन्ने उल्लेख छ। यस्तै, प्रदेशसभा नियमावली पहिलो संशोधन २०७६ को धारा ७ मा (१) मा ‘सभामुखको निर्वाचन संविधानको धारा १८२ को परिधिभित्र रहनेगरी तोकिएको दिनमा हुनेछ’ भनी उल्लेख छ। सभामुख नै चयन नभएकाले उपसभामुखको निर्वाचनको मिति नै तय भएको छैन।

सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी र विपक्षी दलहरूका तर्फबाट कांग्रेसका मानबहादुर रावल सभामुख पदका उम्मेदवार छन्। पहिलो दिन २८ गते भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई सभामुख बन्न एक मत अपुग भएको थियो। उनले २६ मत मात्रै पाएका थिए।

दोस्रो पटक ३० गते भएको पुनः मतदानमा पनि भण्डारीले बहुमत प्राप्त गर्न सकेनन् बरु अघिल्लो दिन पाएको मत पनि जोगाउन सकेनन्। त्यसदिन नागरिक उन्मुक्तिका ७ सांसद तटस्थ बसेपछि भण्डारीको बहुमत पुग्न सकेको थिएन्। सत्ता गठबन्धनमा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक गरी २९ मत छन्। त्यही मतले एमाले सांसद राजेन्द्रसिंह रावललाई मुख्यमन्त्री बनाएको थियो। बहुमतका लागि २७ सांसद आवश्यक पर्छ।  – दिनेश खबरबाट

Leave A Reply

Your email address will not be published.