जिउँदा चक्र मटेलीलाई सरकारले राख्यो शहीदको सूचीमा

267

चैत्र ४, डोटी ।

सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ ।
डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान स्वरुप शहीद घोषणा गर्ने निर्णय गरेको थियो ।
फागुन २९ गते प्रकाशित राजपत्रमा जिउँदा व्यक्ति मटेलीलाई पनि शहीदको सूचीमा राखिएको छ । डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जनामध्ये मटेलीको नाम ४२ औं नम्बरमा छ । राजपत्रमा २०५९ साल बैशाख १९ गते मटेलीको मृत्यु भएको उल्लेख छ ।
अनलाइनखबरसँगको कुराकानीमा मटेलीले ब्यंग्यात्मक जवाफ दिए । आफू मृत्युतुल्य अवस्थामा रहेका कारण यसमा कुनै अप्ठेरो नमान्ने उनले बताए । ‘म मरे सरहनै छु सर, शरीरमा ३ ठाउँ गोली लागेको मान्छे, हातखुट्टा चल्दैन, स्वास मात्रै बाँकी छ’, अनलाइनखबरले सोधेको प्रश्नको जवाफमा मटेली हास्दै भन्छन् ‘मलाई जिउँदो शहीद बनाएकोमा कुनै गुनासो छैन ।’
मटेली २०५९ साल वैशाख १९ गते बर्छैनको छेडामा तत्कालीन शाही नेपाली सेनाले गरेको आक्रमणमा परी घाइते भएका थिए । उनको घाँटी, मुख र पाखुरामा गोली लागेको थियो । उनी भन्छन् ‘मलाई मर्‍यो भनेरै छोडेका हुन्, तर म जिउँदै रहेछु ।’ आफूलाई छाक टार्ने व्यवस्था गरिदिनु पर्‍यो भनेर पटक पटक सबै पक्षलाई अनुरोध गर्दा पनि कसैले नसुनेको उनको गुनासो छ । ‘माओवादी बिद्रोहकै क्रममा मेरो यस्तो अवस्था भयो तर माओवादीहरुले पनि हेरेनन्’, मटेली भन्छन् ‘माओवादी सरकारमा भएका बेला पनि मैले धेरै नेताहरुलाई आग्रह गरेँ, आफ्नो समस्या भनेँ, तर कसैले सुनेनन् ।’
‘म जिउँदै छु तपाईसंग फोनमा कुरा गरिरहेको छु, मरेको त छैन’ मटेली भन्छन् ‘सरकारले २० बर्षअघिनै मारिसकेको रहेछ ।’ माओवादी नेतृत्वको सरकार रहेका बेला आफू र आफूजस्ता निर्दोष द्वन्द्व पीडितहरुको समस्या बुझिदिनुपर्ने उनी बताउँछन् ।

नेकपा माओवादी केन्द्र डोटीका संयोजक कमलबहादुर गड्सिला चक्रबहादुर मटेलीको नाम त्रुटिवश शहीदको सूचीमा समावेश भएको हुन सक्ने बताउँछन् । ‘हामीले नामावली तयार गरेर पठाउन साथीहरुलाई जिम्मा दिएका थियौं, काम गर्ने क्रममा केही तलमाथि भयो होला, हामी सच्याउँछौं’ उनले भने ।

यस्तो थियो छेडा घटना

चक्र मटेली सशस्त्र बिद्रोहको क्रममा सेना र माओवादीबीच भएको दोहोरो भिडन्तमा परेर घाइते भएका होइनन् । उनी न त माओवादी हुन्, न सैनिक । उनी सर्वसाधारण किसान हुन् ।

२०५८ साल फागुन ४ गते अछाम जिल्ला सदरमुकाम आक्रमणपछि तत्कालीन माओवादी नेता कार्यकर्ताहरु छेडा गाउँमा जम्मा हुने क्रममै थिए । स्थानीयका अनुसार २०५९ साल बैशाख १९ गते सेनाले एकाएक गोली चलाउन सुरु गर्‍यो । घटनामा माओवादीतर्फ कति हताहत भए खुलेको छैन । तर स्थानीयका अनुसार उक्त घटनामा करीव एक सयको हाराहारीमा माओवादी मारिएका थिए ।

घटनामा माओवादीको आरोपमा सेनाको गोलीबाट मारिनेहरुमा स्थानीय ७० बर्षीय रणबहादुर चन्द, ६५ बर्षीय दलबहादुर चन्द, २५ बर्षीय लालबहादुर चन्द र १८ बर्षीय टेकबहादुर चन्द रहेका थिए । गोरु किन्न भनेर आएका पुड्केपानी गाउँका डबलबहादुर सार्कीले पनि सोही घटनामा ज्यान गुमाएको मटेली बताउँछन् ।

बिहान करीव ११ वजे लहरैका खेतमा गोरु जोतेर धान छर्दै गरेका व्यक्तिहरुलाई माओवादीको आरोपमा सेनाले समातेको मटेलीको भनाइ छ । उनीहरुलाई माओवादी भएको कवुल गराउन खोज्यो तर स्थानीयले आफूहरु माओवादी होइन भनेपछि कुट्यो । ‘जोतिएका गोरुका हलो र जुवा समेत काट्यो’ चक्र भन्छन् ‘त्यसपछि लाइन लाएर गोली हान्यो ।’

हलो जोत्दै गफ गर्दै गरेका ६ जना स्थानीयहरुमा छेडा गाउँकै चक्र मटेली पनि थिए । अन्य पाँच जना जस्तै उनलाई पनि सेनाले लाइनमा राखेको थियो । ‘ल तिमीहरु भाग, ज्यान बचाउ, भनेका हुन् शाही सेनाले’ चक्रले झण्डै २१ वर्षअघिको घटना सम्झिए, ‘तर हामीले हामी माओवादी होइनौं यही गाउँमा मान्छे हौं, भागेर कहाँ जाउँ भन्दा आमा छोएर गाली गर्दै गोली हाने ।’ हात, मुख र घाटीमा गोली लागेका चक्र भन्छन् ‘त्यसपछि के भयो थाहा भएन ।’ राति करिब ८ बजे होस खुलेपछि आफू नजिकैको दुम्सीको ओडारमा गएर बसेको उनी बताउँछन् ।

‘बोल्न खोज्दा मुखमै हानेर दात झरे, हात जोडेर बिन्ती गर्दा हातमै गोली हान्यो’ चक्र भन्छन् । सेनाले आएर एकोहोरो गोली हानेको र माओवादीले तयारी समेत गर्न नपाएको स्थानीय बताउँछन् । ‘तर पछि रेडियोबाट दोहोरो भिडन्तमा मारिएको भन्ने सुनेँ’ उनी भन्छन् ‘यो सरासर झुटो समाचार थियो ।’

यो समाचार रामहरि ओझाले अनलाइन खबरमा लेखेका छन् ।

Leave A Reply

Your email address will not be published.