खप्तडमा म्याराथन लगाएतका प्रतियोगिताको तयारी पूरा
सुवास नेपाली
जेष्ठ १३, डोटी ।
भू-स्वर्गको रूपमा विश्वप्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा जेष्ठ शुक्ल पक्ष दशमीमा लाग्ने गंगा दशहरा मेलालाई लक्षित गर्दै (हाई अल्टिच्युट) खप्तड-शैलेश्वरी खुला म्याराथन पुरुष र महिला हाप म्याराथन लगायत अन्य प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ।
यही जेठ १६ गते लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्न लागिएको र सबै तयारी पूरा भएको डोटीको सिलगढीस्थित भैरवप्रसाद गणका गणपति (प्रमुख सेनानी) जनमतबहादुर कार्कीले बताए ।
गङ्गा दशहराको अवसरमा खप्तड-शैलेश्वरी खुला म्याराथन प्रतियोगिता (पुरुष र महिला) का साथै भलिबल, देउडा, घोडादौड प्रतियोगिता पनि आयोजना गरिने उनलेे नजर अनलाइनलाई बताए ।
धार्मिक तथा प्राकृतिक पर्यटकीय सौन्दर्यले भरिपूर्ण खप्तडलाई म्याराथन लगाएतका प्रतियोगिताका माध्यमले देश विदेशमा चिनाउने उद्देश्यले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद कैलाली र डोटी उद्योग वाणिज्य संघको आयोजना तथा नेपाली सेनाको भैरव प्रसाद गणले प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी लिएको छ ।
पुरुषतर्फको म्याराथन प्रतियोगितामा खप्तडदेखि सिलगढीको शैलेश्वरी मन्दिरसम्म ४२ किलोमिटर दुरी रहनेछ भने महिलातर्फको हाप म्याराथनमा झिङ्ग्रानादेखि सिलगढीको शैलेश्वरी मन्दिरसम्म २१ किलोमिटर दुरी रहने जनाइएको छ ।
म्याराथनको ४२ किलोमीटर पुरुषतर्फ प्रथम हुनेले रु १ लाख २५ हजार दोस्रो हुनेले ८० हजार, तेस्रो हुनेले ५० हजार नगद र महिलातर्फ प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।
आज शनिबारदेखि खप्तड क्षेत्रमा संचालन गरिने घोडादौड, भलिबल र देउडा प्रतियोगिताका लागी आयोजक र व्यवस्थापकको टिम प्रतियोगिता संचालनका आवश्यक सामाग्री सहित खप्तड क्षेत्रमा पुगिसकेको उद्योग वाणिज्य संघ डोटीका निवर्तमान अध्यक्ष नरेन्द्र बहादुर खडकाले बताए ।
जस अनुसार जेष्ठ १३ देखि १६ गतेसम्म खप्तड क्षेत्रमा भलिबल, देउडा, घोडादौड प्रतियोगिता संचालन हुनेछन् ।
त्यस्तै १६ गते जिल्ला सदरमुकाम सिलगढिको टुडिखेलमा सुदूरपश्चिमको कला संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम गरिनुका साथै जेष्ठ १७ गते म्याराथन पुरुष र महिला प्रतियोगिता सम्पन्न गरिने छ ।
म्याराथन प्रतियोगिता अवधिभर संभावित जोखिमलाई ध्यानमा राखी हेलिकप्टर गस्ति पनि गरिने जनाइएको छ।
म्याराथन प्रतियोगितामा १०० जना सहभागिता रहने र विदेशी खेलाडीहरुको पनि सहभागीता रहने आयोजकले जनाएको छ।
यस अघि पनि नेपाली सेनाको भैरव प्रसाद गणको व्यवस्थापनमा प्रथम खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता २०७९ सम्पन्न भएको थियो । जसमा नेपाली सेनाको भवानी बक्स गण अछाममा कार्यरत अमलदार सुशीलकुमार शाही प्रथम भएका थिए । उनले दुई घण्टा १८ मिनेट ३१ सेकेन्डमा खप्तडको त्रिवेणी धामदेखि डोटीको शैलेश्वरी मन्दिरसम्म ३२ किलोमीटरको दूरी पार गरेका थिए ।