डोटीको जोरायलमा ‘विद्युतीकरण’ कार्यमा तिव्रता

716

भाद्र २७, डोटी ।
डोटीको जोरायल गाउँपालिकामा विद्युुत बिस्तार हुन बाँकी ठाउँहरुमा विद्युतीकरण गर्ने कार्यलाई तिव्रता दिइएको छ ।
पछिल्लो करिब एक डेढ हप्ताको अवधीमा मात्रै जोरायल गाउँपालिका वडा नं. ४ को सिराड, बिनोडा, गाँजरी, चोरकोट, सैगडा, वडा नं. ३ को बरम लगाएतका गाउँहरुमा विद्युत सेवा सुचारू गरिएको जोरायल गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ४ का वडा अध्यक्ष नन्दराज भट्टले जानकारी दिए ।
त्यस्तै वडा नं. ४ को बगस्ती, चुचुनढुङ्गा, वडा नं. ३ को ठाँटीगडा, दुदेखाली, नौकुँडा, अल्याडी, गडाखर्क, भाडे, पुर्खे, ठाडा लगाएतका बस्तीहरुमा विद्युतीकरणको काम तिव्र रुपमा भईरहेको उनले बताए ।
त्यसैगरी वडा नं. ६ को गुनड, वडा नं. ४ को देउथला, डुब्की, दुवागुनड, नकु, थली लगाएत गाउँहरुमा पनि छिटोभन्दा छिटो विद्युत बिस्तार गर्ने गरी काम अघि बढेको प्रवक्ता भट्टले जानकारी दिए ।
आफुहरुले जनतामाझ गरेको प्रतिबद्धता अनुसार निकट भविष्यमै ‘जोरायल गाउँपालिकालाई उज्यालो गाउँपालिका’ घोषणा गर्ने लक्ष्य अनुसार विद्युतीकरणको कार्यलाई उच्च प्राथमिकता दिएर काम भईरहेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने –‘हामीले चुनावी घोषणा पत्रमै जोरायल गाउँपालिकालाई सकेसम्म छिटो उज्यालो गाउँपालिका घोषणा गर्ने लक्ष्य राखेका थियौं । सोही प्रतिवद्धता अनुसार तिव्र रुपमा काम भईरहेको छ ।’
अहिले जोरायल गाउँपालिकाले पालिकाभित्र विद्युतीकरण हुन बाँकी घरधुरीको तथ्याङ्क संकलन गरिरहेको पनि अध्यक्ष ओझाले नजर अनलाइनलाई जानकारी दिए ।
जोरायल गाउँपालिकाका विभिन्न स्थानमा नेपाल विद्युत प्राधिकरणका ६ वटा र गाउँपालिकाको लगानीमा एउटा गरी जम्मा ७ वटा ट्रान्सफर्मर जडान गरी विद्युत विस्तार गरिन लागेको नेपाल विद्युत प्राधिकरणका प्राविधिक डम्बर मल्लले बताए । मल्लका अनुसार केही बस्तीमा यो वर्षको दशै-तिहार अगाडि नै बत्ती बाली सक्ने र यस वर्षभित्र जोरायल गाउँपालिकाका करिब ५ सय बढी घरधुरीमा विद्युतीकरण गरिनेछ ।

गाउँमा विद्युतिकरण भएपछि अँध्यारोमुक्त हुनुका साथै विभिन्न पेशा, व्यवसाय, उद्योग सञ्चालनमा सहजता आउने भन्दै स्थानीय हर्षित भएका छन् ।

 

Leave A Reply

Your email address will not be published.