डोटी जिप दुर्घटना, ६ जना घाइते, एक जना रिफर गरिदै
कार्तिक ३, डोटी ।
डोटीको सिलगढी नजिकै पानीखाल भन्ने ठाउँमा शुक्रबार जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सायल गाउँपालिकाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप दिउँसो करिब साढे १ बजेतिर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सडकको मोडमा जिप पल्टिँदा जीपमा रहेका १२ जनामध्ये ६ जना घाइते भएका हुन् । घाइते हुनेमा सायल गाउँपालिका-३ का ५० वर्षीय भारमल खाती, ४५ वर्षीय माने खाती, ३० वर्षीय अमृत खाती, ३२ वर्षीय गम्भीरे खाती, पुर्विचौकी गाउँपालिका-२ का २४ वर्षीय दीपक ठकुल्ला र बाबा आनन्द गिरी रहेका छन् ।
बिरामीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइते गम्भीरे खातीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको जिल्ला अस्पताल डोटीका डाक्टर समिक सिंहले जानकारी दिए । चालक फरार रहेको प्रहरीले बताएको छ ।