एमाले अध्यक्ष केपीशर्माओली मंसिर १५ मा डोटी आउँदै
मंसिर १२, डोटी ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली डोटी आउने भएका छन् ।
पुष्पलाल स्मृति मध्य पहाडी लोकमार्गको यात्राका क्रममा ओली नेतृत्वको एमालेको केन्द्रिय टिम मंसिर १५ गते डोटी आउन लागेको हो ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा सो पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिईएको उक्त यात्रा मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भइ पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ ।
नेपालका मध्य पहाडी क्षेत्रका जिल्लाहरु जोड्न निर्माण गरिएको मध्यपहाडी लोकमार्ग १८७९ किलोमिटर रहेको छ । एमालेले उक्त लोकमार्गमा २६ दिनको यात्रा गर्ने जनाईएको छ ।
अभियानबाट मध्ये पहाडी क्षेत्रका जिल्लाहरुका समस्या, पर्यटकीय क्षेत्रको अवलोकन, विकास निर्माणका सम्भावनाको अध्ययन गर्ने कार्यक्रम रहेको छ ।
एमाले अध्यक्ष ओली डोटी आउने भएपछि नेकपा एमाले डोटीले तयारी तिव्र पारेको एमाले पोलिट ब्युरो सदस्य एवं डोटी इञ्चार्ज लिला भण्डारीले जानकारी दिइन् । जसका लागि एउटा मूल समिति र ११ वटा उपसमिति निर्माण गरी कार्यक्रमको तयारी थालिएको भण्डारीले जानकारी दिइन् । डोटीमा गोपघाट र दिपायलमा जनतासँग भेटघाट र सिलगढी टुँडिखेलमा विशाल जनसभा कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको जनाईएको छ । जिल्लाका ९ वटै पालिकाका हजारौं जनसहभागितामा जनसभा सम्पन्न गरि उक्त दिन अध्यक्ष ओलीको टिम डोटीमै बस्ने र भोलिपल्ट बिहान चौखुट्टेमा जनतासँग भेटघाट कार्यक्रम तय गरेको एमाले डोटीले जनाएको छ ।
कार्यक्रमका दौरानमा जिल्लाभित्रका उत्कृष्ट किसान, विशिष्ट योगदान गरेका व्यक्तित्व, सँस्था, जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिने जनार्ईएको छ ।