ड्यौडा गायन क्षेत्रका वरिष्ठ प्रतिभा : केशवराज फुलारा (व्यक्तित्व–कृतित्व)
– निर्मलकुमार भण्डारी
– कि सुवा घर खानी होइजा – कि अन्तै नसिजा,
बयेँली उड्याका मन – ठेगान बसिजा–
– कोदे ल्याये काटाल है – धान् ल्याया खेत है,
ठाउँ छाडी बाइजाउँकि मान्नो – बहुरा चेत है–
– वारी छ सैमकि माणौ – पारी लुवाखडी,
पिजरी बसन्या मैना – कै खन्जर पडी–
– सेती नदी पूर्व बग्दी – बन्डोरीसैन है,
बस्या मन् बहुर्याइ दिन्या – जमाना तैन है–
– तल्तिर गोल्माकि गाःड – मल्तिर बन्डोली,
तेरी खाना साठी साल – के मेरो मन् डोली–
– कसैकी पिस्याको धुलो – कसैकी मैदा भै,
मन् भयो उडन्या चडी – जिन्दगी कैद भै !!
चर्चित भागवत वाचक एवम् धार्मिक प्रवचनकर्ता पं स्व. हरिदत्त फुलारा तथा धर्म परायण माता स्व. पद्मादेवी फुलाराको दाम्पत्तिक योग–संयोगबाट वि.स. २०२९ साल असोज २ गतेका दिन हालको सुदूरपश्चिम प्रदेश अन्तरगत डोटी जिल्ला स्थित शिखर नगरपालिका वडा नं ६ को ‘चुणी’ गाउँमा जन्मनु भएका कलाकार केशवराज फुलारा गायन क्षेत्रका वि.स. २०४६ साल देखिनै निरवछिन्न रुपमा समर्पित यसक्षेत्रका वरिष्ठ प्रतिभा हुन् । उनको भावात्मक मानस पटलमा ड्यौडा गायन कलाको प्रादुर्भाव वि.सं. २०४६ साल देखि नै भए पनि त्यसले सार्वजनिक हुने अवसर पाएको भने वि.सं. २०५० सालमा दीपायलमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रको स्थापना भए पश्चात् मात्रै हो । यस अर्थमा वरिष्ठ ड्यौडा गायक केशवराज फुलाराको ड्यौडा कलाकारिता क्षेत्रको पहिलो प्रेरक सञ्चार मिडिया एवम् मातृसंस्था भनेको रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दीपायल नै हो ।
ड्यौडा गायन क्षेत्रमा साधनारत् रहँदै जाँदा वि.सं. २०५१ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दीपायलले नियमानुसार लिएको स्वर परीक्षामा यसक्षेत्रका अन्य कतिपय कलाकारहरुसितै स्वर परीक्षा उत्तिर्ण गरेका कलाकार केशवराज फुलाराको औपाचारिक साङ्गितिक यात्रा तथा गीति एल्बमहरुको अभिलेखिकरण र सार्वजनिकिकरण पनि भएको पाइन्छ । जस क्रममा वि.सं.२०५१ साल देखि हालसम्म कलाकार केशवराज फुलाराद्वारा अभिलेखिकृत तथा लोकार्पित गीति एल्बमहरुको क्रमागत नाम र अनुक्रम यस प्रकार रहेको छ :–
कोपिला
बैरागीको फुलबारी
कलिले छाएको माया
लौ बिरी छम्का
पानी र…..
मेरो प्यारो सुदूरपश्चिम
प्रकृति प्रेम
भाइबिनाको बिलौना
काँ मेरा बा गया ?
होइजाउँकी फुलकी माली
छोट्टा–छोट्टी
खेल मेरी दर्कादरी
मेरो प्यारो सुदूरपश्चिम
कैसी भरुँ जमुनाजल पानी
साइ पर थाल धुनी
मायाको चिनो
टिपि खाइहालुकी
दुःखी जीवन
न्याउला रानी
उपर्युक्त सिंगो गीति एल्बमहरु बाहेक अन्य विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार मिडियाहरुबाट फुटकर रुपमा पनि उनका गिति रचनाहरु सार्वजनिक भइसकेका छन् भने, स्वदेश तथा विदेश (अमेरिकि सांस्कृतिक संस्था)का कार्यक्रमहरुबाट तथा स्वदेशका विभिन्न मेला–महोत्सवहरुबाट पनि समय–समयमा उनका गीतहरु सार्वजनिक हुदै गरेका पाइएका छन् । विशेषतः उनका गिति एल्बम तथा फुटकर गीतहरु भित्र– देशप्रेम,प्रकृति प्रेम,स्व–बासस्थान प्रतिको प्रेम, पारिवारिक पीडा र बिछोडका सम्वेदनाहरु सँगै माया पिरतिका उद्वेगहरुपनि छचल्किएका पाइन्छन् । आफ्नो सुदीर्घ साङ्गितिक साधनाको यात्राका अन्तरालमा विभिन्न क्षेत्रबाट साथ, सहयोग र प्रेरणा दिने प्रेरक व्यक्ति स्रोतको रुपमा उनले यसक्षेत्रका निम्नवत व्यक्ति विशेषको नाम स्मरण गरेको पाइन्छ । जस्तै:–
टेकराज अवस्थी
निर्मलकुमार भण्डारी
तीर्थराज जोशी
डिल्लीराज फुलारा
हरिदत्त फुलारा
राधादेवी फुलारा
हरिप्रिया फुलारा
मदनराज भट्ट
लेखराज जोशी
भुवन फुलारा
भीष्म फुलारा
वासुदेव फुलारा
गीता फुलारा
लक्ष्मी फुलारा
खेम फुलारा
मेखराज फुलारा
लगायत अन्य व्यक्तित्वहरु । समग्रमा सुदूरपश्चिम प्रदेश क्षेत्रका कलाकारहरुको पंक्तिमा ड्यौडा गायन क्षेत्रमा कलाकार केशवराज फुलाराको साङ्गितिकता तथा वरिष्ठताको स्थान निश्चयनै अब्बल रहेको अनुभूति हामी सबैमा रहेको छ । उत्तर बाल्यावस्थामै मातृ वात्सल्यबाट वञ्चित भएका कलाकार केशवराज फुलाराको कलात्मक संबेग प्रष्फुटनको स्रोत र सूक्ष्म आभास– मातृवियोग पारिवारिक जिम्मेवारी तथा पीडा पनि हो, जो उनका गायन र गीतिशब्दहरुमा यत्रतत्र छचल्किएको सुन्न पाइन्छ । उनका उत्कृष्ट भावनात्मक गीत–सङ्गीतहरु विभिन्न राष्ट्रिय एवम् स्थानीय सञ्चार मिडियाहरुबाट समय–समयमा प्रसारित भइरहेका सुनिन्छन् भने, अमेरिकी सांस्कृतिक संस्थानले पनि त्यस क्षेत्रमा उनका गीतहरुको प्रसारण गरिरहेको कुरा मदनराज भट्टको जानकारीबाट थाहा भएको छ ।
राष्ट्रका उच्च एवम् सर्वोच्च स्थानहरुमा लोक साहित्य र गीत–सङ्गीतको यथोचित मूल्याङ्कन कर्ता आफ्नो मानिस कोही नहुँदा र आफ्नो स्वाभाविक पहुँच नहुँदा कलाकार केशवराज फुलारा प्रायः ओझेलमा परे जस्तो देखिए पनि निस्तेज भने छैनन् । जसरी बादल भित्रको भास्कर ओझेलमा परेपनि निस्तेज हुन सक्दैन । मलाइ लाग्छ वि.सं २०४६ साल देखि नै ड्यौडा गायनको क्षेत्रमा दीर्घ साधनारत वरिष्ठ कलाकार केशवराज फुलाराको साङ्गितिक यात्रा आगामी दिनमा समेत अँझै पराकिलो हुँदै जानेछ । विशेषतः सुदूरपश्चिमको अमूल्य धरोहर मानिने ड्यौडा साधना गर्दै गरेका होनहार साधक केशवराज फुलारा हाल सम्म निम्नवत् स्थानहरुबाट सम्मानित समेत भएका पाइन्छन् । जस्तै:–
रेडियो नेपाल सिंहदरवार काठमाण्डौं,नेपाल
रेडियो नेपाल क्षेत्रीय प्र्रसारण केन्द्र दीपायल, डोटी
शिखर नगरपालिकाको कार्यालय डोटी
जि.वि.स.,डोटी
अमेरिकि सांस्कृतिक संस्थान, अमेरिका
ड्यौडा प्रतिष्ठान, धनगढी,कैलाली
लगायत अन्य विभिन्न स्थानीय एफ.एम. रेडियोहरुबाट पनि ।
विगत २०४६ साल देखि अविछिन्नरुपमा डोटेली लोकसाहित्य अन्तरगतको ड्यौडा गायन तथा साङ्गीतिक एल्बमहरु अभिलेखिकरण एवम् सार्वजनिकिकरणमा दिलोज्यानले समर्पित वरिष्ठ ड्यौडा गायक र त्यस विधाका दीर्घ साधक कलाकार केशवराज फुलारा वर्तमान समयमा पारिवारिक परम्परा अनुसार आफ्ना पिता श्री पं स्व.हरिदत्त फूलाराको दैहिक विश्रान्ति पछि उहाँद्वारा सम्पादित हुदै आएको त्यस क्षेत्रको प्रभावशाली स्थानीय देवता श्री सैम–लुवाखडीको वर्षेनी मनाइने पूज–जात्रा कार्यको प्रमुख देव कार्यकर्ता (पूजारी) रहनु भएको पाइन्छ भने आफ्नो मन, वचन र कर्मले सके भ्याए जति अन्य लोक कल्याणकारी कर्म कर्तव्य प्रति समर्पित रहेर पनि आफ्नो उत्तर बाल्यावस्था देखिकै रुचिकर विषय– डोटेली लोक साहित्यको डैडा गायन विधाको उन्नयन गर्ने कार्यमा सदा प्रतिवद्धरहेको प्रसङ्ग स्तुत्य एवम् प्रशंसनीय रहेको छ । अन्तमा वरिष्ठ कलाकार केशवराज फुलाराको उत्तरोत्तर साङ्गीतिक उत्कृष्टता तथा दीर्घ जीवनको मंगलमय शुभकामना । अस्तु …