सांसद ओलीको प्रस्ताव ‘सुदूरपश्चिमको राजधानी दिपायल सारौं’
माघ ९, डोटी ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिं ओलीले प्रदेश राजधानी डोटीको दिपायलमा सार्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सभाको तेस्रो तथा हिउँदे अधिवेशनको दोस्रो बैठकमा प्रदेश राजधानी दिपायल सार्नुपर्ने प्रस्ताव गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं डोटी निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित सांसद ओलीले प्रदेशसभामा बोल्दै कैलालीबाट राजधानी सार्न माग गरेका हुन् ।
वास्तवमा सरकारको नियत हेर्दा विगतदेखि अहिलेसम्म सरकार प्रदेश राजधानी कार्यान्वयनमा लागेको नदेखिएको बताए ।
उनले भने–‘अहिले प्रदेश सभा जो हामी बसिरहेका छौं, यो कैलाली जिल्ला समन्वयको भवन हो । मुख्यमन्त्री बसेको कार्यालय यातायात व्यवस्था कार्यालयको हो । अन्य मन्त्रालयको हालत पनि त्यही छ । यदि साँच्चिकै रुपमा पुरानो प्रदेश सभाले गरेको निर्णय कार्यान्वयन गर्न सकिने होइन र यसको औचित्यता पनि सकिएको हो भने यो प्रदेश सभामा प्रदेश राजधानीको विषयलाई नयाँ शिराबाट उठाउनको निमित्त म प्रस्ताव गर्न चाहन्छु ।’
संघीय सरकारबाट अहिलेसम्म प्रदेश राजधानीका निमित्त जग्गा मात्रै पनि पाउन नसकेको, करोडौं रकम मन्त्रालयको मर्मत सम्भारमा खर्च भएको, त्यो रकमबाट प्रदेश सभा र मन्त्रालयका भवन बनिसक्ने उनले बताए ।
पूरानो क्षेत्रीय सदरमुकाम, ऐतिहासिक गौणा रहेको डोटीको दिपायलमा २ हजार जना अट्ने सेती सभाहल, सबै मन्त्रालय अट्ने सरकारी भवनहरु भएको, प्रदेशको प्रतिष्ठान समेत रहेको दिपायलमा राजधानी बनाउँदा के घाटा पथ्र्यो भन्दै प्रश्न गरेका छन् ।
त्यस्तै उनले प्रदेश राजधानी दिपायल सारेमा सन्तुलित विकास पनि हुने र पहाडको जनसंख्या तराई सर्ने अवस्था पनि कम हुने सांसद ओलीको दावी छ ।
प्रदेशका जनताको मनोविज्ञान र मनोआकांक्षा बुझेर सुन्तुलित विकासको अवधारणा अनुसार अगाडि बढ्ने हो भने फेरि एक पटक प्रदेश सभामा प्रदेश राजधानीको विषयलाई पुनर्विचार गर्न र सबैलाई पायक पर्ने दिपायल जो छ त्यहाँ सन्तुलित विकासको अवधारणा अनुसार अगाडि बढाउनको लागि जोडदार माग गरेका छन् ।
गएको भदौ २० गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह डडेल्धुराको एक पत्रकार सम्मेलनमा बोल्दै अघिल्लो सरकारले कैलालीको गोदावरीमा तोकेको स्थायी राजधानी सार्ने कसरत भईरहेको प्रसङ्ग पनि सांसद ओलीले कोट्याएका थिए ।
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ मा सात वटै प्रदेशको अस्थायी राजधानी तोक्ने क्रममा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी तोकेको थियो ।
सुदूरपश्चिम प्रदेशका तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारका पालामा प्रदेश सभाको ४६ औं बैठकबाट स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको वडा नं. २ र ४ मा पर्ने गरी तेघरीलाई तोकेको थियो । हालसम्म त्यहाँ कुनै संरचना निर्माणका काम हुन नसकेपछि राजधानी सार्ने विषयले स्वभाविक प्रवेश पाएको हो ।
ऐतिहासिक डोटी गौणाको मुकाम रहेको, साविकको संरचनामा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको डोटी, दिपायलबाट संघीय संरचनामा राजधानी कैलाली तोकेपछि डोटीले अधिकार गुमाएको महशुस गरेको छ ।
सामरिक दृष्टिकोण, भौगोलिक समदुरी, पर्याप्त सरकारी भौतिक संरचना लगाएतका आधारमा पनि डोटी प्रदेश राजधानीका लागि उपयुक्त स्थान रहेको छ ।
सांसद ओली के-के बोले भिडियोमा हेर्नुहोस –