डोटी लगाएत सुदूरपश्चिममा हिउँदको पहिलो वर्षा
माघ १८, डोटी ।
डोटी लगाएत सुदूरपश्चिमका जिल्लाहरुमा यो वर्षको हिउँदे सिजनको पहिलोपटक वर्षा भएको छ ।
वर्षातको मौसम हटेपछि महिनौंसम्म वर्षा नभएको अवस्थामा बुधबार राति करिब १ बजेदेखि पानी पर्न शुरु भएको हो ।
सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा भने हल्का हिमपात समेत भएको छ ।
बुधबार राती नै हल्का पानी सङ्गै हिउँ परेको बैतडीको सिगास गाउँपालिकाका कम्प्युटर अपरेटर रवीन्द्र कुमार साउदले नजर अनलाइनलाई जानकारी दिए ।
त्यस्तै पहाडी जिल्ला र तराईका जिल्लाहरुमा पनि हल्का वर्षा भैरहेको छ ।
लामो समयसम्म वर्षा नभएकोले विशेष गरि किसानहरुका बालिनाली सुक्न थालेपछि किसान चिन्तित बनेका थिए ।
यो वर्ष सिचाइ अभावमा डाडापाखाका किसानले रोपेका हिउँदे बालीहरु सुक्दै गएको र उत्पादनमा कमि आउने जोरायल गाउँपालिका १ तिलाचौडका अगुवा कृषक खडक मल्लले बताए । यद्यपि ढिलो भए पनि अहिलेको वर्षाले बालीनालीका लागि केही राहत हुनसक्ने मल्लले बताए ।
कैलालीको धनगढीमा राती हल्का वर्षा भएको र अहिले वर्षा रोकिएको भएपनि मौसम बदली भैरहेकोले फ़ेरि वर्षा हुने सम्भावना रहेको धनगढी तारानगर निवासी नजर अनलाइन सहकर्मी विष्णुकान्त ओझाले बताए ।
सुदूरपश्चिम सङ्गै देशका अन्य भुभागमा पनि वर्षाको सम्भावना रहेको समाचारहरुमा जनाइएको छ ।
मौसम चिसो भएसङ्गै स्वास्थ्य समस्या देखिनसक्ने भएकोले सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुको सुझाव छ ।