सुदूरपश्चिममा सात मन्त्रीले लिए शपथ, जोशीले गरे बहिस्कार

165

जेठ २८, धनगढी ।

भागबण्डाको किचलोकाबिच सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमवार ५ जना बिनाविभागीय सहित ८ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री सोडारीका प्रमुख स्वकीय सचिव दीर्घ जोशीकाअनुसार एमालेबाट तीन जना, माओवादी केन्द्रका तीन जना, एक जना एकीकृत समाजवादीका र एक जना स्वतन्त्र सांसद गरी थप आठ जना मन्त्री नियुक्त भएका छन्।

एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास र स्वतन्त्र सांसद ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका छन्। तर जोशीले भने मन्त्रीमा नियुक्त गरेको विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

एमालेका बीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी बिक, एकीकृत समाजवादीका माया पन्तलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको छ। यससँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित ११ सदस्यीय भएको छ। यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा यसअघि नै मन्त्री भएका हुन्। यता माओवादी केन्द्रमा मन्त्री सिफारिसको विषयलाई लिएर किचलो भएको छ। पाँच जना सांसदहरुले संसदीय दलभित्र सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न मुख्यमन्त्री सोडारीलाई ध्यानाकर्षण बुझाएका छ्न्। सांसदहरु खगराज भट्ट, झपट साउँद, शिवसिंह ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन्। माओवादीका सभामुखसहित ११ सांसद छन्। – दिनेश खबरबाट

Leave A Reply

Your email address will not be published.