आज साउने संक्रान्ति पर्वका रुपमा मनाइदै

232

श्रावण १, डोटी ।
आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्वका रुपमा मनाईँदैछ । सौर्यमान अनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।आजका दिन, असारे वर्षा र हिलोबाट आउन सक्ने विभिन्न रोगहरुबाट बच्न लुतो फाल्ने परम्परा रहेको छ । छालाजन्य रोग दाद, लुतो, खटिरा आदिबाट बच्न कुकुरडाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी जस्ता बनस्पति जलाएर घरको आँगनबाट साँझ चारै दिशातर्फ अगुल्टो अर्थात लुतो फाल्ने प्रचलन छ । यसैबीच सुदूरपश्चिममा पनि आज साउने संक्रान्ती पर्व धुमधामका साथ मनाईदैछ ।आजका दिन यस क्षेत्रमा खेतबारीमा रोग ब्यादी नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेल लगाएतका हरिया बनस्पतीको हर्यालो हाल्ने प्रचलन छ । त्यस्तै हरेलो (वर्षातका कारण स्वास्थ्यमा असर) नलाग्ने विश्वासका साथ हरिया सागपातहरु पकाएर खाने गरिन्छ, भने ब्रामण र चेलीबेटीहरुलाई दान दक्षिणा दिने गरिन्छ । त्यस्तै साउन महिनाभरीमा खिर पकाएर खाने तथा पराई घर गएका चेलीबेटीहरुलाई मिठा–मिठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ ।साथै आजकै दिनदेखि महिनाभरि नै हिन्दु नारीहरुले हातमा हरिया चुरा, हरियो सारी र मेहन्दी लगाउने गर्दछन् । साउनमा शिवजीको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख, समृद्धि, विद्या, धन लगायत विषयमा सफलता प्राप्त हुने विश्वास वैदिकशास्त्रमा उल्लेख गरिएको संस्कृतिविद्हरु बताउँदछन् ।विशेषगरी शिवजीलाई साउनको सोमबार जल, दूध, भाङ, धतुरो चढाइने गरिन्छ । सुदुर पश्चिमका धेरै जसो जिल्लाहरुमा धार्मिक विश्वासका साथ बत्ति बाल्ने अर्थात स्थानिय भाषामा कालो महिना आजदेखि सुरु भएको छ । साउन सक्रान्तिदेखि सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा साउन महिनालाई बत्ति बाल्ने अर्थात विषेश धार्मिक महिनाको रुपमा लिई मन्दिरमा पाठपुजा गर्ने काम सुरु भएको छ । यहाँका जिल्लाहरुमा आजको दिनदेखि भक्तजनहरुले बिहानै उठि नुहाईधुवाई गरि १ महिनासम्म एक छाक व्रत बसि पालो अनुसार स्थानिय सबै मन्दिरमा पुगि पुजा पाठ गर्ने चलन रहेको छ । आजको दिनदेखि करिब एक महिनासम्म ब्रत बसि मन्दिरमा पुजापाठ गर्नाले मनले चिताएको पुरा हुनुका साथै अन्जानमा गरिएका पाप कर्महरु नष्ट हुने धार्मिक विश्वास छ । साउनमा अधिकांश मानिसहरूले माछा मासुजन्य खानेकुरा पनि खादैनन् ।

Leave A Reply

Your email address will not be published.