नेकपा डोटीद्वारा सायलका बेसाहारा ३ जना बालकलाई नगद १० हजार सहयोग
झलक पाली
भाद्र १९, डोटी ।
डोटीको सायल गाउँपालिका वडा नं. ६ नारा गाउँका बेसाहारा ३ जना बालकहरुलाई नेकपा डोटीले नगद सहयोग रु. १० हजार प्रदान गरेको छ ।
नेकपा डोटीका अध्यक्ष चक्र मल्लले शुक्रबार उनिहरुलाई घरमै पुगेर उक्त रकम सहयोग प्रदान गरेका हुन् ।

लामो समय बिरामी रहेका ५५ वर्षीय बुवा बाजी खातीको करिब १५ महिनाअघि मृत्यु भएको र गएको फाल्गुन महिनादेखि आमा सँगीताले पनि छोडेर सम्पर्कविहीन भएपछि बिचल्लीमा रहेका बालकहरु ९ वर्षका लक्ष्मण, ४ वर्षका गणेश र २ वर्षका कृष्ण खाँतीलाई नगद १० हजार रुपैंया सहयोग गरेको नेकपा अध्यक्ष मल्लले नजर अनलाईनलाई जानकारी दिए ।
अध्यक्ष मल्लले आफ्नै बारीमा फलेका स्याउ, नासपाती, काँक्रा लगाएतका फलफुल समेत बालकहरुलाई खुवाएका छन् ।

ति बालककी सम्पर्कविहीन आमा सँगीताको माइति घर भारतको उडिसा राज्यमा रहेको जनाईएको छ ।
स्थानीय युवा तथा शिक्षक दीपक खाँतीले तीन बालकहरुको अवस्थाबारे सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेसँगै विभिन्न व्यक्ति तथा सँस्थाबाट सहयोग जुटिरहेको छ ।
डोटीबाट प्रतिनधी सभा सदस्य प्रेम आलेमगरको पहलमा उनिहरुको शिक्षा दिक्षा र पालनपोषणका लागि बालग्राम वा बाल गृहमा दीर्घकालिन व्यवस्थापन गर्न पहल भईरहेको छ । यस कार्यमा सम्बन्धीत वडा, गाउँपालिका, जिल्ला प्रशासन कार्यालय डोटीले पनि समन्वय गरिरहेका छन् ।

प्राप्त पछिल्लो जानकारी अनुसार उनिहरुलाई कैलालीको एसओएस बालग्राममा व्यवस्थापन गर्ने तयारी रहेको हुँदा कैलाली लैजान पूर्व पीसिआर परीक्षणका लागि विहीबार स्वाव संकलन भैसकेको र नतिजा आउन बाँकी रहेको स्थानीय समाजसेवी युवा दीपक खाँतीले जानकारी दिएका छन् ।
अहिले तीनै जना बालकहरुलाई जेठो बालक अर्थात ९ वर्षका लक्ष्मणले सम्हालेका छन् ।