छपालीमा एच.पि.भि.खोप अभियान सम्बन्धि अभिमुखिकरण सम्पन्न
प्रेम नेपाली/माघ ११, डोटी ।
डोटीको सायल गाउँपालिका १ छपालीमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भि.खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा स्तरीय खोप समन्वय समिती, स्वयंसेविका, विद्यालयका शिक्षकहरु र अन्य सरोकारवालाहरुको उपस्थितिमा छपाली स्वास्थ्य चौकीमा एक दिने अन्तरक्रिया सम्पन्न भएको छपाली स्वास्थ्य चौकी प्रमुख पुनम भट्टले जानकारी दिइन् ।
उक्त अभियान माघ २२ गते छपाली माध्यमिक विद्यालय र सरस्वती-कालिका आधारभूत विद्यालय कौराडी, २३ गते कुसेना र तेलपारा, २४ गते छपाली स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य इकाई कौराडीमा संचालन हुने जनाईएको छ।
यही माघ २२ देखि फाल्गुन ६ गतेसम्म राष्ट्रिय रुपमा संचालन हुने उक्त अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखी १४ वर्ष उमेर समुहका किशोरीहरुलाई एच.पि.भि.खोप लगाइदैछ ।
विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त उक्त खोप यस वर्ष अभियानको रुपमा संचालन गरिए पनि आगामी वर्षहरुमा भने नियमित खोप अन्तरगत चल्ने बताइएको छ ।