`कृषि प्रविधि प्रचार´ सम्बन्धि अन्तरक्रिया सम्पन्न

372

माघ १५, डोटी ।
कृषि प्रविधि प्रचार सम्बन्धि अन्तरक्रिया गोष्ठि मंगलबार डोटीको सिलगढीमा सम्पन्न भएको छ ।
कृषि सम्बन्धि प्राविधिक विषयवस्तु र कृषिमा भैरहेका कामहरुबारे सञ्चारकर्मीमार्फत प्रचार गर्ने उद्धेश्यले कृषि ज्ञान केन्द्र डोटीले गोष्ठि आयोजना गरेको हो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र डोटीका प्रमूख गंगादत्त अवस्थीले ज्ञान केन्द्रमार्फत भैरहेका कामहरु र आगामी कार्यक्रमहरु बारे प्रस्तुतीकरण गरेका थिए ।
ज्ञान केन्द्रले यस वर्ष पालिका स्तरमा कृषक पाठशाला सञ्चालन, गुरु किसान परिचालन, घरबारी तथा पोषण बगैचा स्थापना र सुदृढिकरण, कृषि सर्वेक्षण, किसान सूचिकरण, फलफूल नर्सरी स्थापना तथा सुदृढिकरण, रोड करिडोर तरकारी उत्पादनमा जोड, चैते धान बाली प्रबद्र्धन, युवा लक्ष्यित, मागमा आधारित कृषि विकास कार्यक्रम, कोल्ड स्टोरमा आलु र आलु बिउँ राख्नेलाई प्रति के.जि. ३ रुपैंया अनुदान तथा आलु बिउँ ढुवानी सहयोग, प्राङ्गारिक कृषि प्रबद्र्धन, हरियो मल प्रबद्र्धन लगाएतका काम गरिरहेको अवस्थीले बताए ।
कार्यक्रममा प्रमूख अतिथिका रुपमा बोल्दै जिल्ला समन्वय समिति प्रमूख लक्ष्मण बहादुर सिंहले यो देशको भविष्य कृषि क्रान्तिबाट मात्रै सम्भव भएको र कृषि प्रबद्र्धनका लागि मिडियाकर्मीले प्रचारप्रसारमा जोड दिनुपर्ने बताए ।
उनले भने–‘यो देशको भविष्य छ भने कृषिमै छ । कृषि क्रान्तिमै छ । कृषि बारे सञ्चारकर्मीहरुले प्रचारप्रसारबाट ठूलो सहयोग पुग्नसक्छ । तपाईंहरु सामाजिक सञ्जालबाट समेत कृषिबारे प्रचारप्रसार गरिदिनुहोला ।’
अहिले कृषि लगाएतका थुपै्र अधिकारहरु नजिकको सरकारका रुपमा चिनिले स्थानीय तहलाई दिइएको, स्थानीय तह लगाएत सबैले कृषिमा आत्म निर्भर हुनुपर्छ भन्ने गरेको तर बजेट भने निकै न्यून राख्ने गरेको पाईएको जिसस प्रमूख सिंहले बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि डोटीका प्रमूख जिल्ला अधिकारी मोहनराज जोशीले कृषि क्षेत्रमा भए गरेका कामहरु बारे अन्तरपालिका समन्वय बैठक राख्नुपर्ने र जिल्लामा मात्रै नभएर पालिका स्रतमा सरोकारवालाहरुसम्म पनि ज्ञान केन्द्रले गरेका कामहरु लैजानुपर्नेमा जोड दिए ।
यसका साथै जिल्लामा आउने कर्मचारीहरु सँग भएको सिप क्षमताको सदुपयोग गर्दै जतिसक्दो काम लिनुपर्नेमा प्रजिअ जोशीले जोड दिए ।
कृषि ज्ञान केन्द्रको हलमा आयोजित उक्त कार्यक्रममा सहभागिहरुले आ–आफ्ना जिज्ञासा तथा सुझावहरु औंल्याएका थिए ।
सहभागिहरुको जिज्ञासा तथा सुझावहरु सम्बोधन गर्दै ज्ञान केन्द्र प्रमूख अवस्थीले अबको कृषि प्रतिष्पर्धी, व्यवसायिक, प्रविधिमैत्री, आधुनिक, उद्यमशील, नतिजा तथा नाफामुखी, जलवायुमैत्री, संरक्षित र सुनिश्चित वचतका साथै निरन्तरतामा आधारित हुनुपर्नेमा जोड दिएका थिए ।

 

Leave A Reply

Your email address will not be published.