सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र भवन छिटो निर्माण हुनु पर्ने माग

404

चैत्र २६, डोटी ।
डोटीको जोरायल गाउँपालिका ३ चन्कट्टेस्थित सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रको भवन छिटो निर्माण गर्न स्थानीयबासीहरुले माग गरेका छन् ।
जोरायल गाउँपालिकाले मंगलवार आयोजना गरेको आर्थिक वर्ष २०८/८२ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले उक्त १५ शैय्याको अस्पतालको भवन यथासिघ्र निर्माण गर्न गाउँपालिकाले पहल गर्नुपर्ने माग गरेका हुन् ।

ठेक्का सम्झौता भएको तीन वर्ष ८ महिना बितिसक्दा समेत निर्माण व्यवसायीले भवन निर्माण नगरिदिएपछि स्थानीयले उक्त ठेक्का रद्द गर्नुपर्ने माग राखेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोगमा निर्माण हुने भनिएको उक्त १५ शैयाको आधारभूत अस्पतालको भवन निर्माणका लागि गाउँपालिका र निर्माण व्यवसायी कम्पनी राजेन्द्र निर्माण सेवाबीच २०७८ साउन १९ गते सम्झौता भएको थियो । सम्झौता अनुसार उक्त कार्य २०८० असार मसान्तमा सम्पन्न भइसक्नु पर्ने हो । तर भवनका लागि जग्गा सम्म्याउने बाहेक अरु कुनै काम भएको छैन ।
१८ करोड ६ लाख ८२ हजार रुपियाँको कुल लागत अनुमान रहेको उक्त भवन निर्माण व्यवसायीले ११ करोड २१ लाख ५८ हजार ६३९ रुपैयाँ अर्थात् लागत अनुमानको ६२ प्रतिशतमै काम सम्पन्न गर्ने कबोल गरेको थियो । तर कामै सुरु नगरेको जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दराज भट्टले बताए । सम्झौता लगत्तै निर्माण व्यवसायीले गाउँपालिकाबाट एक करोड ९६ लाख ८० हजार रुपैयाँ पेस्की लिएको थियो । उक्त पेस्की रकम महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाउँदै आएको छ ।
निर्माण व्यवसायीलाई पटक-पटक ताकेता गर्दा पनि अटेरी गरेको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा बताउँछन् । ‘हामीले गाउँपालिकाबाट पटक-पटक पत्राचार गरेर भवन छिटो निर्माण गर्न भन्यौं, तर ठेकेदारले टेरेनन्’ अध्यक्ष ओझाले भने ‘अब हामी छलफल गरेर निर्णय लिन्छौं ।’ उनले ठेक्का रद्द गर्न र निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राख्नका लागि सिफारिस गर्ने तर्फ गोउँपालिकाले सोच बनाएको बताए ।
‘ठेकेदार नेपाली कांग्रेसका नेता हुनुहुन्छ, यसै क्षेत्रका बासिन्दा पनि हुन्हुन्छ’ अध्यक्ष ओझाले भने ‘ठेक्का तोड्दा गाउँपालिकाले राजनीतिक पूर्वाग्रही भएर तोड्यो भन्ने आरोप लाग्न सक्छ भन्ने सोचेर हामीले पटक-पटक आग्रह गर्यौं, तर अब धेरै कुर्दैनौं ।’ उनले थपे- `अब एक पटक छलफल गरेर त्यसपछि ठेक्का तोड्नेतर्फ अघि बढ्छौं ।´

निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाका सञ्चालक भिमबहादुर साउँद नेपाली कांग्रेस डडेल्धुराका सभापति हुन् ।
सार्वजनिक सुनुवाईमा अध्यक्ष ओझाले सहभागीहरुका प्रश्नको जवाफ दिँदै भने -‘गाउँपालिकासंग भएका गुनासा, आक्रोस, प्रश्न जे जति छन् ति सबै हामी सुन्न र त्यसको समाधान गर्न तयार छौं, तर आफ्ना गुनसाहरु सम्बन्धित ठाउँमा गर्न म गाउँपालिकाबासीलाई आग्रह गर्दछु ।’ उनले गाउँपालिकाको विषयलाई लिएर सडकमा, भट्टी पसलमा, सामाजिक सञ्जालमा गाली गलौज नगर्न पनि आग्रह गरे । उनी थप्छन्-‘कमी कमजोरी भएको विषयमा हामी आलोचना सहन तयार छौं तर असभ्य र अश्लिल भाषामा आउने आलोचना सुन्न जरुरी छैन ।’

सुदूरखबर अनलाइन मिडिया प्रा.लि.को सहजीकरणमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा जोरायल गाउँपालिकाको तर्फबाट सम्पूर्ण विषयगत शाखाहरुको प्रगति प्रस्तुतिपश्चात सहभागीहरुले प्रतिक्रिया, गुनासा तथा सुझाव दिएका थिए ।

Leave A Reply

Your email address will not be published.