“पत्रकार र कर्मचारीबिच सौहार्दता बढेको छ”–प्रजिअ जोशी
बैशाख ८, डोटी ।
डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आफु जिल्ला प्रवेश गरेसँगै शुरुवात गरेको ‘सूचना अधिकारी तथा सञ्चारकर्मीबिचको नियमित बैठक’ प्रभावकारी बन्दै गएको बताएका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालयको बैठक कक्षमा सम्पन्न सूचना अधिकारी तथा सञ्चारकर्मीबिचको नियमित बैठकमा बौल्दै प्रजिअ जोशीले यस्तो बताएका हुन् ।
उनले भने –‘सूचना अधिकारीको नियमित बैठक त भैरहन्थ्यो, तर त्यसमा सञ्चारकर्मी पनि सहभागि गराएर सूचनाको हक सम्बन्धी सार्वजनिक सरोकारका विषयमा बैठक अन्तरक्रियात्मक भएपछि व्यवस्थित गर्न सहज भएको छ ।’
यसरी नियमित बैठक राख्दा कर्मचारी र पत्रकारबिचको गुनासोमा कमि आएको छ भने सौहार्दता बढ्दै गएको पाईएको प्रजिअ जोशीले बताए ।
बैठकका सञ्चारकर्मीहरुले उठाएका सवालहरु र जनपक्षीय गुनासाहरुलाई सम्बोधन गर्दै जाने पनि उनले प्रतिबद्धता जनाएका छन् ।
हालसम्मका बैठकमा स्थानीय तहहरुका सूचना अधिकारीहरु सहभागि नभएको सन्दर्भमा आगामी बैठकमा जसरी पनि सहभागि गराईने प्रमूख जिल्ला अधिकारी जोशीले प्रतिबद्धता जनाएका थिए ।
सुशासन, पारदर्शिता, जवाफदेहिता र गुनासो रहित वातावरण सिर्जनाका लागि सार्वजनिक सरोकारका विषय सार्वजनिक हुनैपर्ने आफ्नो मान्यता रहेको प्रजिअ जोशीको भनाई छ ।
विशेषतः हरेक नागरिकको सूचनाको हक र सञ्चारकर्मीले मागेका सूचना जानकारीहरु सूचना अधिकारीमार्फत सहजै पाउने तथा कार्यालयमा आउने गुनासाहरुको सुनुवाइ प्रभावकारी बनाउन आयोजित बैठकमा डोटीमा रहेका संघीय इकाइ कार्यालय, प्रादेशिक निर्देशनालय, जिल्ला तहका अधिकांश सरकारी कार्यालयका सूचना अधिकारीहरु र डोटीमा क्रियाशील सञ्चारकर्मीहरु सहभागि हुने गर्दछन् ।
बैठकमा सूचना अधिकारीहरुले सम्बन्धित कार्यालयले गरिरहेका अभ्यासबारेमा जानकारी आदानप्रदान गर्ने गरिन्छ ।