‘अखण्ड सुपको एजेण्डाले दिपायलबाट राजधानी सरेको हो’ – प्रचण्ड
जेठ ३, डोटी ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अखण्ड सुदूरपश्चिमको एजेण्डाकै कारण डोटीको दिपायलबाट राजधानी धनगढी सरेको जिकिर गरेका छन् ।
मध्ये पहाडी लोकमार्ग अन्तरगत जनता जागरण अभियानका क्रममा दिपायलस्थित बसपार्कमा शनिबार आयोजित जनसभामा बोल्दै यस्तो बताएका हुन् ।
प्रचण्डले भने –‘ऐतिहासिक विरासत बोकेको डोटी जिल्ला बाइसे चौबिसे राज्यकालमा सभ्यता र सँस्कृतिको प्रतिकका रुपमा शक्तिशाली राज्य हुँदै पछिल्लो कालखण्डमा पनि कुनै न कुनै रुपमा आफ्नो औचित्य र औचित्य सिद्ध गर्दै आएको थियो । कहिले विकास क्षेत्र त कहिल्यै प्रदेशको केन्द्रका रुपमा आफ्नो इतिहास र गौरवलाई स्थापित गर्दै आएको थियो ।’ यस विषयमा थप भने–‘तपाईंहरुले भने जस्तै कतै डोटीको ऐतिहासिक गौरव कमजोर पर्न लागेको हो कि ? यस प्रदेशको केन्द्र धनगढी या गोदावरी भैसकेपछि डोटी छायाँमा पर्ने हो कि ? विकास निर्माणका दृष्टिले पनि डोटी र यहाँका जनताको भूमिका कमजोर पारिने हो कि भन्ने प्रश्न जायज छ ।’
आफुले शान्ति सम्झौतामा हस्ताक्षर गरेर संविधान सभाको निर्वाचन पूर्व डोटीको दिपायल पुगेर सम्बोधनका क्रममा बोलेको स्मरण गर्दै डोटी नै सुदूरपश्चिम प्रदेशको केन्द्र हुने र आफ्नो त्यसमा सहयोग हुने भनेता पनि आफ्नो कुनै केहि नचलेर अन्ततः प्रदेशको केन्द्र धनगढी, कैलाली हुन पुगेको उनले बताए ।
अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलालीमा पुर्याएको हो भन्ने कुरा बुझ्न प्रचण्डले डोटीबासीलाई गम्भीर रुपले आग्रह गरे । उनले भने –‘अखण्ड भन्ने त राम्रो शब्द भयो, अखण्ड सुदूरपश्चिम भन्ने कुरा मिठो लाग्ने पनि भयो । तर त्यो अखण्डले डोटीको औचित्य र अधिकारलाई कहिं न कहिं वञ्चित र कुण्ठित गर्यो । म योभन्दा बढि भन्न चाहन्न ।’
नेकपा माओवादीले संघियताको प्रशासनिक शासकीय स्वरुप परिवर्तन गर्दाका बखत सुदूरपश्चिमका सात पहाडी जिल्लाको एक प्रदेश बनाउनेमा जोड पनि दिएको थियो ।
तर बिचमा अखण्ड सुदूरपश्चिमको लागि ठूलै आन्दोलन समेत भएको थियो भने राजनीतिक पहुँचका आधारमा यस प्रदेशको अस्थायी राजधानी धनगढी तोकिएको थियो । साथै सुदूरपश्चिम प्रदेश सरकारले दुइ तिहाइ बहुमतका साथ स्थायी राजधानी कैलालीको गोदावरीमा तोकेको थियो । यद्यपी कैलालीको गोदावरीमा स्थायी राजधानी तोक्दा पक्षमा भोट हाल्ने माओवादी केन्द्रकै नेता तथा सुदूरपश्चिमका तत्कालीन मूख्यमन्त्री त्रिलोचन भट्ट नै कार्यक्रमका सभाअध्यक्ष रहेका थिए ।
यस क्षेत्रको ‘लाइफ लाइन’ भनेको आर्थिक गतिविधीको निम्ती, राजनीतिक र साँस्कृतिक गतिविधीको निम्ती पनि खुटिया दिपायल चैनपुर फास्ट ट्र्याक धेरै महत्वपूर्ण राजमार्गका रुपमा रहेको उल्लेख गरे । आफु प्रधानमन्त्री भएको बेला नै यस राजमार्गको प्रस्तावक नै आफु रहेकोमा गर्व महसुश हुने दाहालले बताए । आज मात्रै के.आई.सिंह गाउँपालिकाको वडा नं. ६ र ७ को क्षेत्रमा यस राजमार्गको निर्माण कार्यको अवलोकन समेत गरेको उनले बताए । यसलाई छिटो निर्माण सम्पन्न गर्न, डोटीमा आर्थिक र पर्यटकीय विकासका निम्ती ढोका खोल्न आफ्नो राजनीतिक र भावनात्मक सम्बन्ध भएको बताउँदै राजमार्ग पूरा गर्न सदनबाट, सडकबाट र सरकारका मोर्चाबाट पूरा गराउन सहयोग गराउने विश्वास दिलाए ।
त्यस्तै ७५० मेघावाट क्षमताको पश्चिम सेती परियोजनाका बारेमा आफ्नै पार्टीका स्वर्गिय उर्जामन्त्री पोष्ट बहादुर बोगटीकै पालामा चिनिया कम्पनीसँग सम्झौता भएको तर चिनियाँ कम्पनीले नै त्यति लाभादायिक नदेखेर त्यसलाई क्यान्सिल गरेको बताए । तथापी यहाँको आर्थिक विकासका निम्ती पश्चिम सेती परियोजनालाई अगाडी बढाउनेमा आफ्नो पार्टी गम्भिर र प्रष्ट भएको बताए ।
त्यस्तै इन्जिनियरिङ्ग कलेज, शिक्षाका विषय, यहाँ निर्मित एअरपोर्ट सञ्चालन गर्ने विषय, यहाँको कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लगाएतका विषयमा आफ्नो पार्टीको ध्यान रहेको भन्दै प्रतिवद्धता जनाए ।
नेकपा माओवादी केन्द्रले गम्भीर आत्मसमिक्षा गर्दै जनता, मजदुर, किसान, दलित, महिला, आदिबासी सबै उत्पिडित समुदायसँगको सम्बन्ध बढाउने उद्धेश्यले हुलाकी मार्ग केन्द्रित झापादेखि कञ्चनपुरसम्म जागरण अभियान सम्पन्न गरेको सुनाए । त्यसपछि जेठ २ गतेबाट बैतडीबाट मध्येपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) मा यहाँका जनताका कुरा, सहिद परिवार, वेपत्ता परिवारका कुरा, मजदुर, किसान, व्यवसायी, शिक्षक, कर्मचारीका कुराहरु संकलन गरी राष्ट्रिय रुपमा स्थापित गर्ने, सदनमा उठाउने र समस्या समाधान हुने गरी यो अभियान अगाडी बढाईएको बताए ।
आफु पहिलोपटक प्रधानमन्त्री भएको बेलामा मध्येपहाड र हिमालमा बस्ने समुदायको हित, आर्थिक उन्नती र राष्ट्रिय एकतालाई सुदृढ गर्ने, यस क्षेत्रबाट बसाईसराई गर्ने विकराल समस्या रोक्ने गरी यहीं उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गर्न सके समृद्धिको नयाँ अभियान चलोस् भन्ने उद्धेश्यले ‘मध्ये पहाडी लोकमार्गको’ प्रस्तावक समेत आफु नै रहेको प्रचण्डले दावी गरे ।
उनले भने–‘माओवादी केन्द्र कमजोर भए सबैका अधिकार कमजोर हुन्छन् । हामीले सरकारमा हुँदा पनि सुशासनको लँडाईं, सामाजिक न्यायको लडाईं लडेका छौं, आर्थिक संकटबाट देशलाई पार लगाउन धेरै संघर्ष गर्यौं, दलाल, नोकरशाहका विरुद्ध, रातारात करोड र अरबपती हुनेका विरुद्ध, विचौलियाका विरुद्ध लडेकाले नै निकै षडयन्त्रपूर्वक सरकारबाट हटाईएको हो ।’
पछिल्ला ८/१० वर्ष आफ्नो पार्टीले जनतामाझ जति जानुपर्ने थियो, नजिक हुनुपर्थ्यो, जनताका मुखबाट कुरा सुन्नुपर्थ्यो, त्यसमा आफ्नो कमजोरी भएको महशुस गरेको बताए ।
आफु पहिलोपटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय, महाकाली कोरिडोर, दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणदेखि, पश्चिम सेती, खेटिया–दिपायल–चैनपुर सडकदेखि कैलालीमा दशरथ चन्द स्वाथ्य विज्ञान विश्वविद्यालय निर्माणको प्रस्ताव पनि आफ्नै क्याबिनेटबाट निर्ण भएको दावी गरे ।
सुदूरपश्चिममा सबैभन्दा ठूला परियोजना ल्याउने पार्टी माओवादी केन्द्र नै रहेको प्रचण्डको दावी थियो ।
डोटीको विकासका सन्दर्भमा नेकपा माओवादी केन्द्र डोटीका तर्फबाट पार्टी केन्द्रिय सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिं ओली र डोटीका उद्योग व्यवसायीहरुले समेत ज्ञापन पत्र बुझाएका थिए ।![May be an image of 9 people, temple, wedding and text that says '409m 5000 두] δαcααοθο p00000 ลน जदूर एक नास्सवाद -लेनिनवाद माजावाद -जिन्दाव जनतासंग माओवादी मघ्यपहाडी लोक जनता जागरण अमियान जनमभा'](https://scontent.fktm19-1.fna.fbcdn.net/v/t39.30808-6/495284422_9896136213805859_2394438395034756198_n.jpg?_nc_cat=107&ccb=1-7&_nc_sid=833d8c&_nc_ohc=McyqgmW9TNcQ7kNvwFccVjK&_nc_oc=AdmZO89YjrUYtfybV2-UQyyX3DRzyLx8bbTufs8XOiZi8Eg_Q8DQoIPhKFzmu7-woKY&_nc_pt=1&_nc_zt=23&_nc_ht=scontent.fktm19-1.fna&_nc_gid=1cvdFHNQeloLKeOU6R3-fA&oh=00_AfI1fRuKtJ7AnaCTsnS1TabGHI1F4SejIXvYS8SzDhjZKQ&oe=682E1715)
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं डोटी इञ्चार्ज तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन उक्त पार्टीका डोटी संयोजक एवं बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले गरेका थिए ।
अभियानका क्रममा नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु नन्दकिशोर पुन पासाङ, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ् लगाएत नेताहरुको केन्द्रिय टोली रहेको थियो ।
प्रचण्डको टोली शुक्रबार बेलुकी दिपायल पुगेको थियो भने शनिबार बिहान निर्माणाधीन खुटिया–दिपायल–चैनपुर फास्ट ट्र्याकको अवलोकन, सहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा भेटघाटपश्चात जनसभालाई सम्बोधन गरे लगत्तै टोली अछामतर्फ गैसकेको छ ।
