दिपायल सिलगढी ६ द्वारा बालमन्दिर आ.वि.का विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण 

847

जेठ ५, डोटी ।

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले जिल्ला सदरमुकाम सिलगढीमा रहेको बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

उक्त विद्यालयमा अध्ययनरत १ सय ५ जना विद्यार्थीलाई स्टेसनरी तथा स्कुल ब्याग वितरण गरेको सो वडाका अध्यक्ष नरेश मलासीले जानकारी दिए ।

वडाबाट गरिएको शैक्षिक सामाग्री सहयोगले राज्यको निशुल्क तथा अनिवार्य शिक्षा सम्बन्धि नीतिलाई मुर्त रुप दिन मद्दत पुग्ने कार्यक्रमका प्रमुख अतिथि डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । विद्यालयमा आउने विद्यार्थीहरु कसैले पनि पोशाक र स्टेसनरी अभावले पठनपाठनमा समस्या नहोस् भन्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण महत्त्वपूर्ण भएको जोशीले बताए ।

बालमन्दिर आधारभुत विद्यालयमा पढ्ने विद्यार्थीहरु आर्थिक हिसाबले विपन्न अवस्थाकै परिवारका बालबालिका रहेको आफुले बुझेको उनलेे बताए ।

स्थानीय तह र अन्य सरोकारवालाहरुले शैक्षिक वातावरण सुधारका लागि वार्षिक नीति, कार्यक्रम र बजेटमा राखेर निरन्तरता दिनुपर्नेमा उनलेे जोड दिए ।

वडाका तमाम योजना र आवश्यकता पूरा गर्न नसकेता पनि विपन्न अवस्थाका परिवारका बालबालिका पढ्ने विद्यालयमा सहयोग गर्दा पठनपाठनमा सहयोग पुग्नुका साथै सरकार छ भन्ने अनुभुती होस् भन्ने उद्देश्यले सानो भए पनि सहयोग गरिएको वडा अध्यक्ष मलासीले बताए ।

वि.स.२०३८ सालमा स्थापित उक्त विद्यालयमा हाल दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ सङ्गै ५, ७ र ९ का विद्यार्थीहरु पठनपाठन गर्दै आएको बताइएको छ ।

कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा ५ जना स्थायी शिक्षक, १ जना स्वयंसेवक शिक्षक र १ जना बालविकास सहजकर्ताले पठनपाठन गराउदै आएको बालमन्दिर आधारभुत विद्यालयका प्रधानाध्यापक विजयराज श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिनोद शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय डोटीका प्रमुख महेश अवस्थी, वडाका जनप्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियोे ।

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.