खोजी ल्याइदे ए.. गणतन्त्र सुशासनमा जुटनेहरु !

571

✍️ टेकराज पनेरु
प्रजातन्त्र लोकतन्त्र उत्तमतन्त्र गणतन्त्र
सम्बृद्धि र सुशासन भन्थेउ त मूल मन्त्र ।
आउने बेला फूर्ती लाइस् सम्बृद्धि नै ल्याउछु भनि
ल्याउछु भन्या त्यो सुशासन खै त कता गयो अनि ?
एउटै कुरा ल्याईस तैले जे मन लाग्यो बोल्न पाइने
मनमा लाग्या सबै कुरा चाहिने र नचाहिने ।
तैले ल्याको सम्बृद्धिको खै त कता पोको गयो ?
यो नेपाली विदेशमा किन बलीको बोको भयो ?
तैले ल्याको सम्बृद्धिमा केवल माफिया हावी भए
सुशासन त सपना भयो बिचौलिया काफि भए ।
भ्रष्ट दलाल कमिसन खोर सबले पाए मल जल
ए गणतन्त्र तेरै आडमा तस्करले पाए बल ।
कसैलाई शरणार्थी कोहिको भिजिट भिसा गरिस्
तस्करलाई सत्ता दिइस उनकै आसे पासे भरिस् ।
राजतन्त्र गणतन्त्र दुबै तिर ठिक्क पार्ने
जन्माइ दिइस ए गणतन्त्र जताततै बाजी मार्ने ।
युवा जती विदेश लाइस् बृद्ध बृद्धा स्वदेशमा
यै मतिले गणतन्त्रको कामै छैन यो देशमा ।
ए गणतन्त्र यो मुलुकमा अब तेरो अर्थ रैन
मरेको लास मिल्काउने गाउँमा युवा छदै छैन ।
राजा फाली उफ्री उफ्री तैले आउदा नाच्नेहरु
बनाइ दिइस् आज तिनलाई भ्रष्टाचारमा बाँच्नेहरु ।
सत्तासीन बनाइदिइस् देश चुसि लुट्नेहरु
खोजि ल्याइदे ए गणतन्त्र सुशासनमा जुट्नेहरु ।

(लेखक डडेल्धुराको अजयमेरु गाउँपालिका ३ भद्रपुर, नौलाकोटका बासिन्दा हुनुहुन्छ । उहाँले गणतन्त्र दिवसको अवसरमा यो रचना लेख्नुभएको हो ।)

Leave A Reply

Your email address will not be published.