आज घटस्थापना, घर घरमा जमरा राखिदै, नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिँदै ✍️ झलक पाली 📅 ६ आश्विन २०८२, सोमबार १६:०८ 257 Share असोज ६, डोटी । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने महान् चाड दसैँ आज घटस्थापनासँगै आरम्भ भएको छ । यस दिन घर–घरमा पवित्र कलश स्थापना गरी अखण्ड ज्योति बालिन्छ र नौ दिनसम्म दुर्गा भवानीको आराधना गरिन्छ । भक्तजनहरूले उपवाससहित श्रद्धा र भक्तिले पूजा गर्ने परम्परा रहेको छ । सूर्योदयदेखि १० घडीभित्र माङ्गलिक स्नान गरी पूजाघर वा दसैँघरलाई शुद्ध माटो वा गाईको गोबरले पोतेर कलश स्थापना गरिन्छ । पवित्र जलले भरिएको कलशमा पञ्चपल्लव राखी शंख, घण्टी र डमरु बजाउँदै चण्डी पाठसहित दुर्गा भवानीको आवाहन गरिन्छ । नवरात्रका नौ दिनमा दुर्गाका नौ रूप—शैलपुत्रीदेखि बुद्धिदात्रीसम्मको पूजा गरिन्छ । नवमीसम्म जमरा उमार्ने प्रचलन छ भने दशमीमा यसलाई देवीको प्रसादस्वरूप शिरमा धारण गरिन्छ । शारदीय नवरात्रको पहिलो दिन घटस्थापना गरी देवी शैलपुत्रीको पूजा आराधना गर्ने परम्परा छ । शैलपुत्री देवी दुर्गाका नौ रूपमध्ये पहिलो रूप मानिन्छिन् । पुराणअनुसार उनी पर्वतराज हिमालयकी पुत्री भएकी कारण शैलपुत्री नामले चिनिन्छिन् । दक्ष प्रजापतिको यज्ञमा अपमान सहन नसकी देह त्याग गरेकी सतीदेवी पुनर्जन्म लिएर हिमालयराजकी छोरी शैलपुत्रीका रूपमा प्रकट भएकी विश्वास गरिन्छ । नवरात्रको प्रारम्भमा स्नानादि नित्यकर्मपछि शुद्ध स्थानमा शैलपुत्रीको तस्बिर स्थापना गरी धान, जौँ, तिल, कुश, पञ्चामृत, फलफूल, धूप, बत्ति आदिले पूजा गर्ने चलन छ । ॐ देवी शैलपुत्र्यै नमः मन्त्र जप गरी कलश पूजन सम्पन्न गरिन्छ । शास्त्रअनुसार शैलपुत्रीको आराधनाले मानसिक शान्ति, पारिवारिक सुख, आध्यात्मिक उन्नति र शक्ति प्राप्त हुने विश्वास गरिन्छ । 257 Share