पद्म पब्लिक प्रिमियर लिग – ३ को उपाधी सुजङ ईंग्लिश बोर्डिङ स्कुललाई

664

माघ ८, डोटी ।
पद्म पब्लिक प्रिमियर लिग – ३ को उपाधी सुजङ ईंग्लिश बोर्डिङ स्कुलले हात पारेको छ ।
विहिबार सिलगढीको टुडिखेलमा सम्पन्न भएको फाइनल खेलमा सुजङ ईंग्लिश बोर्डिङ स्कुलको टिमले आयोजक पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयको टिम `बि´ लाई २ रनले पराजित गर्दै पद्म पब्लिक प्रिमियर लिग – ३ को ट्रफी जितेको हो । ट्रफीसंगै नगद रु.७५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो र तेस्रो स्थान बनाउन सफल पद्म पब्लिक `बि´ टिम र `ए´ टिमले क्रमश: ५० हजार र २५ हजार नगद पुरस्कार हात पारेका छन् । फाइनल खेलमा टस जितेर सुजङ ईंग्लिश बोर्डिङ स्कुलले पहिलो ब्याटिङ गर्दै निर्धारित १० ओभरको खेलमा ५२ रन बनाउदै आफ्नो इनिङ समाप्त गरेको थियो भने मध्यम लक्ष्य पाएको पद्म पब्लिकको टिम `बि´ ले आफू सम्हालिन नसक्दा २ रनको झिनो हार ब्यहोर्न बाध्य भएको हो ।
फाइनल खेलको म्यान अफ द म्याच बन्न सफल सुगम साउदले अलराउन्डर पर्दशन गरेका थिए । प्रतियोगितामा जम्मा १८ टिमको सहभागिता थियो, बिगत ३ वर्षदेखि निरन्तर रुपमा पढाईसँगै खेलकुद्को माध्यमबाट लुकेका प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिदै आएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सुजङ ईंग्लिश बोर्डिङ स्कुलका सुगम साउद, उत्कृष्ट ब्याटर सुजङ ईंग्लिश बोर्डिङ स्कुलकै मोहन भट्ट, उत्कृष्ट बलर पद्म पब्लिक मुक्ति नारायण माविका आशिस साउद र उदयमान खेलाडी मोर्निङ लाइट सेकेन्डरी स्कुलका शोहम घले घोषित भएको शिक्षक राजु घलेले जानकारी दिए ।
माघ २ गतेबाट संचालित उक्त प्रतियोगिताको बीचमा दिपायल सिलगढी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भएकोले विहिबार फाइनल खेल सम्पन्न गरिएको हो ।

Leave A Reply

Your email address will not be published.