नेपाली काँग्रेस डोटीले मोटर साइकल र्याली आयोजना गर्दै
फाल्गुन ६, डोटी ।
नेपाली काँग्रेसले बुधबार डोटीमा मोटर साइकल र्याली आयोजना गर्ने भएको छ ।
प्रतिनिधी सभा निर्वाचनको समयमा पार्टीभित्रको एकताको सन्देश दिने उद्धेश्यले र्याली आयोजना गर्न लागिएको काँग्रेसका उम्मेदवार भरत बहादुर खड्काका प्रतिनिधी रघु कठायतले जानकारी दिए ।
करिब १ सयको संख्यामा सहभागि हुने मोटर साइकल र्यालीमा कुनै पनि नाराबाजी नगरीने उनले बताए ।
काँग्रेस निकट नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ तथा अन्य भातृ संगठनहरुको संयुक्त आयोजनामा र्याली निकालिने नेपाल तरुण दलका सभापति टेक बहादुर रावलद्वारा हस्ताक्षरित जारी सूचनामा जानकारी दिईएको छ ।
सूचना अनुसार शिखर, बडिकेदार र जोरायलबाट सहभागिता जनाउन शिखर नगरपालिकाको गहनान मोडमा दिउँसो ठिक १ बजे जम्मा हुन भनिएको छ ।
त्यस्तै दिपायल सिलगढी, पुर्विचौकी, आदर्श, सायल, केआईसिंह र बोगटानबाट सहभागिता जनाउन दिउँसो ठिक १२ः३० बजे पिपल्ला बजारमा जम्मा हुन सूचनामा उल्लेख गरिएको छ ।
दिउँसो सवा १ बजे कोराल खोलादेखि शुरु गरी सिलगढीसम्म पुगेर कोणसभा आयोजना गरिने जनाइएको छ ।
उम्मेदवारहरु र राजनीतिक दलले कार्यक्रम जिल्ला प्रशासनबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था अनुसार जिल्ला प्रशासनको निर्वाचन सेलले मंगलबार नै स्वीकृति प्रदान गरिसकेको छ ।
काँग्रेस उम्मेदवार खड्का बिहानै स्थानीय एफएममा अन्तरवार्ता दिएर दिपायल सिलगढी नगरपालिका १ तिखामा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागि हुने जनाईएको छ ।