बोगटान जीप दुर्घटना अपडेट : घाइते एक महिलाको मृत्यु
फाल्गुन १०, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा आइतबार भएको जीप दुर्घटनामा घाइते भई धनगढी रिफर गरिएकी एक महिलाको मृत्यु भएको छ ।
बोगटान फुड्सिल गाउँपालिका वडा नं. ३ मेल्टाकी ६६ वर्षकि जुना देवी साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा पुर्याई चेकजाँच गर्दा सवा ८ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका ३ कानाचौरबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र.०३ –००१ च ००१४ नम्बरको जीप कानाचौरको धौलाबस्ती नजिकै ढुङ्गाझडे भन्ने स्थानमा दुर्घटना भएको थियो । जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परि मृतक साउँद सँगै सोहि ठाउँकी वर्ष १७ कि सिता साउँद, बर्ष १९ कि शारदा साउँद र बोगटान फुड्सिल ६ पलाडी बस्ने वर्ष २७ को जीप चालक तिर्थ बोगटी घाइते भएका थिए ।
उनिहरु सबैलाई धनगढी रिफर गरिएको थियो । अरु तीन जना घाइतेको माया मेट्रो अस्पताल धनगढी कैलालीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।