प्रसिद्ध शक्तिपीठ ‘डोटीको शैलेश्वरी’मा आगामी माघमा कोटीहोम महायज्ञ सञ्चालन हुने

243

असार ६, डोटी
डोटी सदरमुकाम सिलगढीस्थित प्रसिद्ध शक्तिपीठ शैलेश्वरीमा कोटीहोम महायज्ञ २०८३ सञ्चालन हुने भएको छ । हरेक १२ वर्षमा लाग्ने महायज्ञ आगामी माघ २८ गतेदेखि फाल्गुन ९ गतेसम्म सञ्चालन हुने शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष एवं मूल पूजारी प्रेम शंकर भट्टले जानकारी दिए ।
महायज्ञ सञ्चालनका लागि शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष एवं पूजारी भट्टको अध्यक्षता एवं जिल्ला समन्वय समिति डोटीका प्रमूख लक्ष्मण बहादुर सिंहको प्रमूख आतिथ्यतामा शनिबार सर्वपक्षीय बृहत भेला सम्पन्न भएको छ ।
भेलामा प्रमूख अतिथि जिसस प्रमूख सिंह, विशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिका प्रमूख बाजी सिं खड्का, मधेशी आयोगका केन्द्रिय अध्यक्ष जीवछ शाह, डोटीका प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, दिपायल सिलगढी नगरपालिका ७ का वडा अध्यक्ष कर्ण बिष्ट, वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासी, बाह्र बरेलाका प्रतिनिधिहरुले आ–आफनो धारणा सहित कोटीहोम महायज्ञ सम्बन्धमा मन्तव्य राखेका थिए ।No photo description available.
शैलेश्वरी मन्दिर प्राङ्गणमा सम्पन्न भेलाबाट शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टको संयोजकत्वमा १ हजार १ सदस्यीय कोटीहोम महायज्ञ मूल समारोह समिति गठन गर्ने र विभिन्न विषयगत १७ वटा उपसमितिहरु गठन गर्ने प्रस्ताव गरिएको छ । मूल समारोह समिति र उपसमितिलाई पूर्णता दिन आजको मितिले १५ दिनको समय सिमा राखिएको छ ।
मूल समारोह समितिमा शैलेश्वरीको कार्यक्षेत्र विभाजन गरिएका बाह्र बरेलाबाट ५० जनाका दरले ६ सय जना र बाँकी अन्य जिल्लाभित्रका, जिल्ला बाहिरका तथा विदेशमा रहनुभएका विभिन्न सरोकारवालाहरुबाट समेटिने जनाईएको छ ।
त्यस्तै प्रस्तावित उपसमितिहरुमा आर्थिक व्यवस्थापन, भण्डार व्यवस्थापन, भोजन तथा आवास, अतिथि सत्कार, मन्दिर परिसर व्यवस्थापन, प्रचारप्रसार, भजनकिर्तन, बाजा व्यवस्थापन मण्डप निर्माण तथा मर्मत सम्भार, ब्राह्मण व्यवस्थापन, भक्तजन व्यवस्थापन उपसमितिहरु गठन गर्ने तयारी रहेको छ ।
त्यस्तै दानदातव्य व्यवस्थापन, सचिवालय, कलश व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन, सम्मान पत्र व्यवस्थापन र योग सञ्चालन उपसमितिहरु गठन गर्ने प्रस्ताव पारित गरिएको छ ।
यस बाहेक आवश्यकताका आधारमा थप उपसमितिहरु पनि गठन गर्न सकिने सिलगढीका स्थानीय समाजसेवी नारद मलासीले जानकारी दिए ।
स्कन्द पुराणको मानसखण्डमा उल्लेखित शक्तिपीठ शैलेश्वरीलाई सुदूरपश्चिमका ९ भगवती मध्ये एक प्रमूख भगवतीका रुपमा चिनिन्छ ।

शैलेश्वरी भगवतीको पौराणिक उत्पत्ति र इतिहास :
शैलेश्वरी माताको उत्पत्तिको कथा सत्ययुग र भगवान शिव पार्वतीको प्रेम कथासँग जोडिएको छ । जसको वर्णन स्कन्द पुराणमा उल्लेख भएको बताईन्छ ।
पौराणिक कालमा भगवान् शिव र माता पार्वती आफ्नो विवाहपश्चात मधुचन्द्रिकाका निम्ति यस डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोजेको भन्ने किम्वदन्ती रहेको छ । ब्रह्मा विष्णु लगायत विभिन्न देवताहरू र ऋषिमुनिहरू भगवान शिवको खोजि गर्दै यहाँ आईपुग्दा माता पार्वतीले देवताहरूलाई देखेर आफ्नो एकान्त बासमा बाधा पुगेपछि लज्जास्वरुप माता पार्वती तत्कालै त्यहाँ रहेको एउटा विशाल शैल (शिला अर्थात् ढुङ्गा) भित्र विलिन हुँदा त्यसै बेलादेखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको बताईन्छ । शिव पार्वतीले यस क्षेत्रमा सयल गर्न आएकाले सयलगढी हुँदै हाल सिलगढीको नाम रहन गएको भन्ने पनि एक थरी भनाई पाइन्छ ।
शिलाभित्र विलिन भएकी तिनै साक्षात् जगदम्बा ‘पार्वती’लाई पछि ऋषिमुनिहरूले शैलेश्वरी माताका रूपमा पूजाआजा गर्न थाले। शैलेश्वरी मन्दिरभित्र करिब ६ इन्च अग्लो र १ फिट गोलाइ भएको कालो शिला छ, जसलाई शिव र पार्वतीको संयुक्त रूप मानिन्छ। मन्दिरको गर्भगृहमा आज पनि त्यही अर्धनारीश्वर प्राकृतिक शिला स्वरूपमा माता अवस्थित हुनुहुन्छ।

मन्दिरको इतिहास र पूजा परम्परा :
रमणीय पहाडको काखमा अवस्थित यो मन्दिर परम्परागत नेपाली शिखर शैलीमा ढुङ्गा र इँटाको प्रयोग गरेर बनाइएको छ। मन्दिरको भित्री भागमा कलात्मक बुट्टाहरू रहेका छन् भने गर्भगृहमा माता शैलेश्वरीको मूल शिलाका साथै गणेश र शिवका मूर्तिहरू पनि छन्।
शैलेश्वरी मन्दिरको रेखदेख र नित्य पूजाआजा परम्परागत रूपमा स्थानीय भट्ट ब्राह्मण र जोशीहरूले तान्त्रिक तथा वैदिक विधि अनुसार गर्दै आएका छन्।
शैलेश्वरी मातालाई सुदूरपश्चिमवासीहरूले आफ्नो कुलदेवी र रक्षकका रूपमा अगाध श्रद्धाभक्तिले पूजाआजा गर्ने गर्दछन्।
यहाँ प्राचीन कालदेखि नै वर्षकै सबैभन्दा ठुलो र प्रसिद्ध मेला कार्तिक शुक्ल पूर्णिमाका दिन लाग्छ । यस अवसरमा डोटी, अछाम, बाजुरा, डडेल्धुरा, कैलाली, कञ्चनपुर, काठमाण्डौका साथै भारतको उत्तराखण्डबाट समेत लाखौँको संख्यामा भक्तजनहरू यहाँ पुग्दछन्। त्यस्तै जेठ शुक्ल पूर्णिमाका दिन पनि यहाँ मेला जाँत लाग्ने गर्दछ ।
दशैँमा नवरात्रीको बेला र चैते दशैँमा यहाँ विशेष पूजा हुन्छ। मेलाका समयमा परम्परागत हुड्केली नाच, देउडा र दाइन दमाहा बजाइने हुनाले यस क्षेत्रको लोकसंस्कृति मन्दिर परिसरमा जीवन्त रूपमा देख्न पाइन्छ।
भक्तजनहरूले मनमा चिताएको कुरा पूरा हुने, परिवारमा सुख, शान्ति र समृद्धि आउने आत्मविश्वासका साथ यस मन्दिरमा पुग्दा आत्मबल बढ्ने र नकारात्मक ऊर्जा हट्ने जनविश्वास छ।
शैलेश्वरीमा प्रत्येक १२ वर्षमा कोटीहोम महायज्ञ र १ सय ४४ वर्षमा लख्यहोम महायज्ञ लाग्ने परम्परा रहेको छ ।

Leave A Reply

Your email address will not be published.