एमाले डोटीका पूर्व उपाध्यक्ष शेरबहादुर मल्ल रास्वपा प्रवेश

2,422

साउन २६, डोटी ।
नेकपा (एमाले) डोटीका पूर्व उपाध्यक्ष शेरबहादुर मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
मल्लले आजदेखि आफू राजनीतिक रूपमा एमाले परित्याग गरी रास्वपामा प्रवेश गरेको मंगलबार सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन्। शिखर नगरपालिकाका केहि आफ्ना समर्थक र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेतको उपस्थितिमा एक भेला आयोजना गरि उनले रास्वपा प्रवेशको घोषणा गरेका हुन् । यद्यपि उनले केही समय पहिल्यै रास्वपाको सदस्यता लिइसकेको श्रोतले बताएको छ ।
उनले रास्वपामा प्रवेश गरेसँगै हिजोसम्म साथ–सहयोग गर्ने सबैप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा निरन्तर सामाजिक काममा जोडिइरहने बताएका छन्।
मल्लले आफूबाट कुनै प्रकारको दुराशय नरहेको जानकारी गराउँदै विगतमा आफूसँग साथ र सहकार्य गरेका सबै साथीहरूलाई धन्यवाद दिएका छन्। साथै, केही प्राप्तिका लागि नभई समयको मागअनुसार आफूमा परिवर्तन आएको उनको भनाइ छ।
उनले आगामी दिनमा पनि इमानदारीपूर्वक समाज र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अनेरास्ववियु, राष्ट्रिय युवा संघ लगाएत एमाले जनवर्गीय संगठनबाट राजनीतिमा जोडिएका मल्ल एमाले जिल्ला सदस्य, सचिव हुँदै उपाध्यक्ष भैसकेका थिए ।
सानै उमेरदेखि एमाले डोटीमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता मल्ल २०८१ मंसिरमा सम्पन्न नवौं जिल्ला अधिवेशनमा अध्यक्षमा मन्जु मलासीसङ्ग प्रतिस्पर्धा गरेका थिए । आफुलाई सक्रिय राजनीति गर्ने हुटहुटी भए पनि अधिवेशन यता एमाले पार्टीले भुमिका विहिन बनाएको र एमाले समय सापेक्ष अगाडि बढ्न नसकेको भन्दै ऊनी रुष्ट थिए ।
उनी २०७४ मा शिखर नगरपालिका नगर प्रमुखमा समेत पराजित उम्मेदवार हुन् ।
२०८४ मा हुने स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा उनको रास्वपा प्रवेशलाई शिखर नगरपालिका सङ्गै सिङ्गो डोटी जिल्लाको स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.