जोरायलमा आधारभुत अस्पताल निर्माण : पाँच वर्षको प्रगति मात्रै ११ प्रतिशत !

357

साउन ३०, डोटी ।
डोटीको जोरायल गाउँपालिका ३ चन्कट्टेमा निर्माणाधीन १५ शय्याको आधारभुत अस्पताल निर्माण कार्य पाँच वर्ष पुग्दा पनि भौतिक प्रगति ११.३० प्रतिशतमा सीमित भएको छ।
सो अस्पतालको भवन निर्माणका लागि २०७८ साल साउन १९ गते जोरायल गाउँपालिका र राजेन्द्र निर्माण सेवा प्रा.लि बिच सम्झौता भएको थियो। सम्झौता अनुसार २०८० साल साउन १८ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो। तर निर्माण सम्पन्न नभएपछि बिचमा म्याद थप गरि २०८२ साल साउन १९ गतेसम्मका लागि म्याद थप भएको थियो। उक्त म्याद गत वर्ष नै सकिए पनि अझै म्याद थप भने भैसकेको छैन । यद्यपी यस बिचमा निर्माण कम्पनीले म्याद थपका लागि निवेदन पेश गरेको र एक वर्षका लागि म्याथ थप गर्ने जोरायल गाउँपालिका गाउँकार्यपालिकाको निर्णय भैसकेको तर पत्राचार गर्न बाँकी रहेको जोरायल गाउँपालिकाका सूचना अधिकारी चन्द्र सिं ऐडीले जानकारी दिए ।
निर्माण सम्झौतापछि सुरुवाती चरणमै निर्माण व्यवसायीले पर्याप्त जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन नगरी कामप्रति बेवास्ता, ढिलासुस्ती र लापरबाही गरेको स्थानीयबासिन्दाहरुको भनाई छ । भवनको नक्सा अनुसार निर्माणस्थलमा जमीन सम्म्याउँने क्रममा हिल कटिङ गर्दा जमीन अपुग हुने, थप कटिङ गर्दा माथिल्लो भागमा रहेको पानी ट्याङ्की भत्किने जोखिम देखिएको छ।
त्यस्तै, जमिन सम्याउने क्रममा माटो खन्ने काम द्यइत्त मा उल्लेख गरिएको परिमाणभन्दा बढी हुने देखिएको, काटिएको माटो व्यवस्थापन गर्नुपर्ने तथा भवनको बचाउका लागि ठूलो परिमाणको रिटेनिङ वाल आवश्यक पर्ने अवस्था देखिएको तर बिओक्युमा समावेश नभएको गाउँपालिकाले जनाएको छ।
अस्पताल भवन निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार आर्किटेक्चरल, स्ट्रक्चरल, इलेक्ट्रिकल र स्यानिटरी डिजाइन समेत मन्त्रालयबाट अनिवार्य रूपमा डिपिआर परिमार्जन गराउनुपर्ने तथा बजारमा इन्धन र निर्माण सामाग्रीको मुल्यवृद्धिको कारण देखाई डिपिआर परिमार्जन सहित समस्या समाधान गर्न र म्याद म्याद थपका लागि निर्माण कम्पनीले कारण देखाउने गरेको हो ।
निर्माणको लागि सम्झौता रकम रु.११ करोड २१ लाख ५८ हजार ६३९ रुपैयाँ ८३ पैसा रहेको छ। सम्झौता अनुसार निर्माण कम्पनीले रु.१ करोड ९६ लाख ५० हजार भुक्तानी लगिसकेको गाउँपालिकाले जनाएको छ। जुन रकम आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा गाउँपालिकाको बेरुजुका रुपमा उल्लेख छ ।
२०८३ साउन १५ गते गाउँपालिकाले आयोजना गरेको आ.व.२०८२/८३ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त अस्पताल समयमै किन बनेन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी जोरायल ४ का वडा कमिटि सभापति सोवान साउँदले प्रश्न गरेका थिए । जवाफमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले निर्माण कार्यलाई समयमै अघि बढाउन निर्माण कम्पनीलाई फोनमा, प्रत्यक्ष भेटघाट तथा औपचारिक लिखित ताकेता पत्रमार्फत पनि पटकपटक आग्रह गरिएको बताए ।
निर्माण कम्पनीको चरम लापरबाही र बेवास्ताविरुद्ध जिल्ला प्रशासन कार्यालय डोटी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीलगायत सम्बन्धित माथिल्ला निकायमा समेत औपचारिक पत्राचार गरी पटक–पटक ध्यानाकर्षण गराइएको गाउँपालिकाले जनाएको छ।
तर निरन्तरको ताकेतापछि पनि निर्माण कम्पनीबाट काम अगाडी नबढाईएपछि उक्त आधारभुत अस्पतालको डिपिआर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको गाउँपालिकाले जनाएको छ।
आधारभुत अस्पतालको निर्माण कार्य समयमै सम्पन्न नहुँदा जोरायलका नागरिकले आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्न अझै लामो समय कुर्नुपर्ने बाध्यता छ।

Leave A Reply

Your email address will not be published.