शिखर नगरपालिकाको निर्माणाधीन भवनमा मापदण्ड विपरित सामाग्री प्रयोग
रहस्य बाहिरिएपछि फेरि बनाउने गरी भत्काईंदै
भाद्र ३०, डोटी ।
डोटीको शिखर नगरपालिकाको निर्माणाधीन भवनमा मापदण्ड विपरित सामाग्री प्रयोग भएको पाईएको छ ।
वि.सं. २०७७ जेठ ३२ गते सम्झौता भई सोहि दिन कार्यादेश दिई निर्माण कार्य शुरु भएको भवनको भुईं सतहको भागमै मापदण्ड विपरित गिट्टी, बालुवा, सिमेन्ट नमिसाईएकै प्रयोग भएको पाईएको हो ।
समाचार श्रोतका अनुसार यहि भाद्र २७ गते राती गरिएको काम मापदण्ड विपरित रहेको पाईएको हो । भुईं तलाको भागमा ४५ सेन्टिमिटरसम्म गिट्टी, बालुवा, सिमेन्ट मिसाएर पिसिसि गर्नुपर्नेमा भित्रपट्टी सिमेन्ट प्रयोग नै नगरी माथितिर मात्रै प्रयोग गरी पुरिएको फेला परेको हो ।
स्थानीय युवा जगन्नाथ बलायरले मापदण्ड विपरित काम भएको प्रमाण सहित सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

यसबारेमा जनस्तरबाट व्यापक विरोध सिर्जना भएपछि मापदण्ड विपरित जे जति काम भएको छ, त्यो सबै भत्काउन थालिएको छ ।
मंगलबार नजर अनलाईन प्रतिनिधी भवन निर्माणस्थलमा पुग्दा निर्माण कार्यमा संलग्न कामदारहरु मापदण्ड विपरित भएको काम भत्काउँदै थिए ।
के कति काम मापदण्ड विपरित भएको छ भन्ने बारेमा भत्काउँदै गएपछि मात्रै भन्न सकिने शिखर नगरपालिकाका सब–इन्जिनियर अमरलाल रावतले बताए ।
नगरपालिकाको तर्फबाट ठेकेदार कम्पनी प्रतिनिधीलाई रातीको समयमा भवन निर्माण कार्य नगर्न भनिएको भए पनि राती राती काम गर्ने गरेको सब–इन्जिनियर रावतको भनाई छ ।
शिखर नगरपालिकाको कार्यालय भवन निर्माणका लागि विभोर निर्माण सेवा डोटीसँग सम्झौता भएको छ । उक्त निर्माण सेवाका सञ्चालक विभोर जोशी भएको तर भवन निर्माणको पूर्ण जिम्मा आफुलाई रहेको ठेकेदार नृप खड्काले बताए ।
उनका अनुसार शिखर नगरपालिकाको तिल्ताली गाउँका स्थानीय मानिसहरुको ग्रुपले आफुहरुलाई पनि काम गर्न दिनुपर्ने माग राख्दै भाद्र २७ गते राती निर्माणस्थलमा आएको एवं जवरजस्त र मापदण्ड विपरित निर्माण कार्य गर्न थालेपछि समस्या आएको खड्काको भनाई छ ।
यसरी जवरजस्त र मापदण्ड विपरित काम गर्न लागेपछि उत्पन्न विवादमा आफुमाथि र भाई हिमाल खड्का माथि समेत उक्त समूहले हातपात समेत गरेको र प्रहरीको सहायतामा साम्य पारिएको उनको भनाई छ ।
शुरुमा गिट्टी, बालुवा, सिमेन्ट मिसाउने मेशिन बिग्रेपछि झण्डै २ घण्टासम्म अन्दाधुन्द सामाग्री प्रयोग गरीएको खड्काले बताए ।
तर ति समूहमा आएका मानिस को हुन् ? किन जवरजस्त काम गरे ? प्रहरीले नै विवाद साम्य पारेको हो भने हातपात गर्ने विरुद्ध कानुनी कारवाहीका लागि किन जाहेरी नदिएको ? भन्ने प्रश्नमा ठेकेदार खड्काले नचिनेका समूह भएकाले उजुरी नगरेको जवाफ दिए ।
नगरपालिका र निर्माण कम्पनीबिच भएको सम्झौता अनुसार उक्त भवन निर्माणका लागि कूल रकम १ करोड ७ लाख ७१ हजार ६ सय ८९ रुपैंया ५० पैंसा रहेकोमा नगरपालिकाले पछिल्लो समयमा ७२ लाख ७६ हजार २ सय ३ रुपैंयाँ थप रकम विनियोजन गरेको शिखर नगरपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत परमानन्द शर्माले बताए ।

भवन निर्माणका क्रममा मापदण्ड विपरित सामाग्री प्रयोग गरिएको थाहा पाए लगत्तै निर्माण कम्पनीलाई तुरुन्त भत्काउन लगाई पुनः निर्माण कार्यका लागि ताकेता गरिएको शर्माले बताए ।
सार्वजनिक सम्पत्ती शिखर नगरपालिकाको भवन निर्माणका क्रममा मापदण्ड विपरित सामाग्री प्रयोग गरिनु लगाएतका अन्य थुपै्र अनियमितता र व्यथितीका बारेमा केहि दिनभित्रै भण्डाफोर अभियान चलाईने नेकपा शिखर नगर संगठन कमिटि अध्यक्ष सागर भट्टले बताए । मापदण्ड विपरित काम भएको विषयमा कानुनी कारवाही हुनुपर्नेमा अध्यक्ष भट्टले जोड दिए ।
भवन निर्माणमा सामाग्री प्रयोगबारे बुधबार पत्रकार सम्मेलन गर्ने शिखर नगरपालिका प्रमूख सिताराम जोशीले बताएको नगरपालिका कार्यालय श्रोतले जनाएको छ ।



