सोह्र श्राद्ध आश्विन कृष्ण पक्ष (पितृ पक्ष) आजदेखि शुरु

177

असोज ११, डोटी ।
आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्ने जनाइएको छ । धर्मशास्त्रविद्हरूका अनुसार प्रतिपदा तिथिको श्राद्ध अपराह्नपछि गर्नुपर्छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ । यस अवधिलाई पितृ पक्ष वा प्रेत पक्षका रूपमा पनि चिनिन्छ ।
धर्मशास्त्रीय मान्यताअनुसार ठूला चाडपर्व तथा धार्मिक कार्यअघि पितृलाई श्रद्धापूर्वक सम्झिने परम्परा छ । सोह्र श्राद्ध आफ्ना पितृको तिथिअनुसार गर्नुपर्ने विधान रहेको धर्मशास्त्रविद्हरूले बताएका छन् ।
कारणवश निर्धारित तिथिमा श्राद्ध गर्न नसके आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म तथा त्यसपछि पनि विभिन्न वैकल्पिक तिथिमा श्राद्ध गर्न सकिने शास्त्रीय व्यवस्था रहेको जनाइएको छ ।
यस वर्ष गत जेठमा अधिकमास परेकाले सोह्र श्राद्धसँगै बडादसैँ पनि अघिल्ला वर्षको तुलनामा केही पछि सरेको छ । पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुनेछ ।
धर्मशास्त्रविद्हरूले सोह्र श्राद्ध अपराह्नकालमा नै गर्नुपर्ने बताउँदै पुरोहितको सुविधाअनुसार बिहानै श्राद्ध गर्न लगाउने प्रचलन शास्त्रसम्मत नभएको पनि बताएका छन् ।

Leave A Reply

Your email address will not be published.