आज विश्वकर्मा पूजा गरिंदै

503

असोज १, डोटी ।
आज आश्विन संक्रान्ति, अर्थात आज विश्वकर्मा पूजा पनि । यस दिन धातु तथा धातुजन्य मेशीनरी सामानहरुको पूजाआजा गरी विश्वकर्मा बाबाको पूजा गरि मनाईंदैछ ।
द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्मा बाबाले समुन्द्रको बिचमा भेद द्वारका बनाई लुकाएको धार्मिक विश्वास अनुसार यो पूजा गर्ने गरिन्छ ।
एकै रातमा समुन्द्रको बिचमा भेद द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविदका रुपमा मानेर त्यसै बखतदेखि पूजा गर्ने परम्परा बसेको बताईन्छ ।
प्राचिन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत लिइन्छ । विश्वकर्माले निर्माण गरेको भेद द्वारका अहिले पनि भारतको गुजरात राज्यको समुन्द्र बिचमा रहेको छ ।
विश्वकर्मालाई वास्तु विधाका विशिष्ट ज्ञाताका रुपमा लिने गरिन्छ । यसै सम्झनामा नेपालका मेशीनरी कालिगढहरुले आज भव्यताका साथ विश्वकर्मा बाबाको पूजाआजा गर्ने गर्दछन् । यसरी पूजाआजा गरेमा आफुमा पनि विश्वकर्मा बाबाको विद्वताका गुणहरु विकास हुने विश्वास लिईन्छ ।
विश्वकर्मा पूजाको दिनलाई वास्तु दिवसका रुपमा समेत मनाउने गरिन्छ । यस दिन सबैले आ–आफ्नो घरमा भएका मेशिनरी सामाग्री तथा दुइ पाङ्गै र चार पाङ्ग्रे सवारी साधनहरुको पूजाआजा गरेर मात्रै बाहिर निकाल्ने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.