नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार नाघ्यो
असोज ९, काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरमा १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय १३ जनामा सङ्क्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या पनि ५१ हजार ८ सय ६६ जना पुगेको छ ।
नेपालमा अब १८ हजार २ सय ८९ जना मानिस कोरोना भाईरसबाट सक्रिय सङ्क्रमित भएर आइसोलेशनमा छन् ।
यस्तै ६ हजार चार सय ६४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।