डोटी, बझाङ् र बैतडीका गरी तीन विमानस्थलमा शनिबार परीक्षण उडान गरिंदै

पर्यटन मन्त्री योगेश भट्टराई नेतृत्वको टोली सहभागि हुने

947

असोज १६, डोटी ।

डोटीको दिपायल विमानस्थल, बैतडीको पाटन विमानस्थल र बझाङ्को चैनपुर विमानस्थलमा शनिबार परीक्षण उडान गरिने भएको छ ।
विमानस्थलको कालोपत्रे सहित स्तरोन्नती गरेपश्चात सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेतृत्वको टोलीले तीन वटै विमानस्थलको निरिक्षण सहितको उडान भर्ने जनाईएको छ ।
समिट एअरको विमानमार्फत पर्यटन मन्त्री भट्टराईको टोलीमा डोटीमाट प्रतिनिधी सभा सदस्य प्रेम आलेमगर, बैतडीका दामोदर भण्डारी, बझाङ्का भैरव बहादुर सिंह र नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल लगाएतको सहभागिता रहने सांसद प्रेम आलेमगरका स्वकिय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
उडान तालिका अनुसार शनिबार बिहान ७ बजेदेखि ८ः१५ बजेसम्म उक्त टोली काठमाण्डौ त्रिभुवन विमानस्थलबाट धनगढी प्रस्थान गर्नेछ ।
तत्पश्चात बिहान ९ बजेदेखि ११ बजेसम्म धनगढीदेखि बैतडीको पाटन विमानस्थल प्रस्थान गरी निरीक्षण गर्ने कार्यक्रम छ । बैतडीबाट ११ बजेदेखि १२ः३० बजेसम्म बझाङ्को चैनपुरमा रहेको विमानस्थालको उडान रहने छ । अन्तिममा १२ः३० बजेदेखि १ः३० बजेसम्म डोटीका लागि टोली प्रस्थान गर्नेछ भने तत्पश्चात नेपालगञ्ज हुँदै काठमाण्डौ फर्किनेछ ।
डोटीको दिपायलमा रहेको विमानस्थल वर्षाैंदेखि बन्द रहेकोमा आफु वि.सं. २०७० सालको संविधान सभाको निर्वाचनमा पहिलो पटक निर्वाचित भएपछि आफ्नो पहलमा तत्कालिन पर्यटन मन्त्री कृपाशुर शेर्पामार्फत रु.८ करोड बजेट विनियोजन गराएर दिपायल विमानस्थलको स्तरोन्नती गराउने काम सफल भएको डोटीबाट प्रतिनिधी सभा सदस्य प्रेम आलेमगरले बताए ।


हाल ४ सय ९० मिटर लम्बाई रहेको दिपायल विमानस्थललाई अब १ हजार मिटर लम्बाई सहित विस्तार गर्न आफुले पहल गर्ने आलेमगरले बताए । दिपायल विमानस्थलमा हप्तामा कम्तिमा एउटा उडान भर्ने गरी आफुले पहल गरिरहेको उनले नजर अनलाईनलाई बताए ।

Leave A Reply

Your email address will not be published.