हलिया परिचय पत्र नपाएको गुनासो

612

असोज १८, डोटी ।

नेपाल सरकारबाट हलिया मुक्तिको घोषणा भएको वर्षाैं बितिसक्दा पनि आफुहरुले हलिया परिचय पत्र समेत पाउन नसकेको एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।
इएलसिएको आर्थिक सहयोगमा एलडब्ल्युएफ र उपेक्षित समुदाय शशक्तिकरण तथा विकास मञ्च डोटीको साझेदारीमा सञ्चालित साहस परियोजनामार्फत आइतबार सिलगढीमा आयोजित कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै साविकको लडागडा गाविस, हाल डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ८ बस्ने लाली दमाईले गाविस छँदा नै केहि मानिसहरुले आफ्नो हलिया परिचय पत्र बनाउने भन्दै नागरिकता लगाएतका कागजात मागेर लगेको भए पनि हालसम्म परिचय पत्र नपाएको गुनासो गरिन् । त्यस्तै नगरपालिकाकै वडा नं. ७ उडितोला बस्ने चन्द्रा बि.क.का अनुसार आफुहरुको पनि त्यसरी नै कागजपत्र लगेको भए पनि केहि व्यक्तिको परिचय पत्र बनिसकेको तर सँगै पठाईएका अन्य धेरैका परिचय पत्र नबनेको दुःखेसो पोखिन् । यसैगरी कार्यक्रमका अर्का सहभागि दिपायल सिलगढी नगरपालिका ५ घोल्तडा बस्ने राधा दमाईले कतिपय मुक्त हलियाले परिचय पत्र पाईनसकेको र पाईसकेकाहरुले पनि परिचय पत्र अनुसार राज्यबाट प्रदान गरिने सेवा सुविधा पाउन नसकेको बताईन् ।
त्यस्तै सोहि नगरपालिका वडा नं. ९ कलेना बस्ने लक्ष्मी नेपालीका अनुसार अलिकति कुरा जान्ने र गर्न सक्नेले मुद्दा प्रक्रियाबाट समेत परिचय पत्र लिएर सेवा सुविधा लिनसकिरहेको तर कमजोर अवस्थाका मुक्त हलियाको हालत ज्यूँका त्यूँ रहेको बताईन् । तसर्थ छुट मुक्त हलियाको यथार्थ विवरण संकलन गरिनुपर्ने, हलिया पुनःर्स्थापनाका प्याकेज अगाडी सारिनुपर्ने, परिचय पत्र वितरण गरिनुपर्ने र परिचय पत्रका आधारमा सेवा सुविधा दिईनुपर्नेमा उनको जोड छ ।
डोटीमा हलियाका सवालमा शुरुवातदेखि नै नेतृत्वदायी भूमिकामा रहेकी हलिया अगुवा सिता बि.क.ले पनि वास्तविक हलियाहरु अँझै तथ्यांकमा छुटेका र केहि नपाउनुपर्नेले पाएको बताईन् ।
डोटीमा बेला–बेलामा छुट मुक्त हलियाका सवाल उठाईंदै आएता पनि पूर्ण तथ्यांक अँझै संकलन हुन सकेको छैन ।
उपेक्षित समुदाय शशक्तिकरण तथा विकास मञ्चका कोषाध्यक्ष डम्बर डौडीका अनुसार सँस्थाबाट कार्य क्षेत्रमा जाँदा हामीलाई परिचय पत्र खोई भन्दै प्रश्न उठाईने गरेको तर आफ्नो कार्यक्रम समूहमा बिउँ बिजन वितरण लगाएतमा केन्द्रित हुने गरेका कारण हलिया परिचय पत्रको विषय पनि सँस्थासँग जोड्ने गरेको बताए । तर सँस्थाको कार्यक्षेत्रमा गर्ने काममा हलिया परिचय पत्र बाधक नरहेको सँस्थाका कार्यक्रम संयोजक भक्तराज उपाध्यायले बताए ।
कार्यक्रममा बोल्दै सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले केन्द्रबाट असारमा मात्रै हलिया समुदायमा काम गर्न भनि बजेट आउने र छोटो समयमा काम गर्न पनि अफ्ठ्यारो हुने र काम नगरे बजेट फ्रिज जाने अवस्था आउने गरेको बताए । समयमै बजेट व्यवस्था भएमा र काम गर्ने स्पष्ट आधार तोकिदिएमा बजेट कार्यान्वयन गर्न सहज हुने अध्यक्ष डुम्रेलको भनाई थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै गैर सरकारी सँस्था महासंघ डोटीका अध्यक्ष रघु बहादुर कठायतले डोटीको सवालमा हलियाका अगुवाहरुबिचको विवाद र राष्ट्रिय मुक्त हलिया समाजको अस्तव्यस्तताले वास्तविक हलियाका मागहरु ओझेलमा परेको बताए । साथै हलिया भन्ने बित्तिकै दलित समुदायका सबै मानिस नपर्ने भन्दै दलित समुदाय हलिया समुदायको पर्यायवाची शब्द नभएको पनि उनले बताए । यद्यपी छुटेका मुक्त हलियाहरुको तथ्यांक लिएर परिचय पत्र वितरण गरिनुपर्ने उनको भनई छ ।
कार्यक्रमलाई संवोधन गर्दै प्रमूख अतिथी एवं दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले हलिया समुदायका लागि थुप्रै काम भएको भन्दै भए गरेका कामलाई बिर्सेर केहि पनि नभएको भन्न नहुने बताईन् । तर पनि हलिया समुदायका लागि थुप्रै कामहरु गर्नुपर्ने भएकाले त्यसमा आफुहरु लागिपर्ने उनले प्रतिवद्धता पनि जनाईन् ।


अँझै पनि हलिया र मालिकलाई एकै ठाउँमा राखेर कुरा गर्ने हो भने हलियाले खुलेर आफ्ना कुरा राख्न सक्ने वातावरण नभएको भन्दै नगर प्रमूख मलासीले यथार्थ छानबिन गरेर हलियाका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिइन् ।
हलिया समुदायमा यतिञ्जेल भएका कामहरुमा पुनस्थापना गरेको ठाउँमा नबस्ने, घर मर्मतका नाममा पैंसा खाने तर काम नगर्ने लगाएत कारणले सन्तोषजनक काम पनि हुन नसकेको उनको भनाई छ ।
कार्यक्रमको समापन गर्दै उपेक्षित समुदाय शशक्तिकरण तथा विकास मञ्चका अध्यक्ष एवं सायल गाउँपालिका डोटीका उपाध्यक्ष बिस्ना सिंहले हलियाका सवालमा सँस्थाबाट हुनसक्ने सहयोगका लागि आफु हरदम तयार रहेको बताईन् ।

Leave A Reply

Your email address will not be published.