कोरोना असर : जोरायलको वडा नं. ३ को कार्यालय र एक सहकारी अर्काे सूचना जारी नभएसम्मका लागि बन्द

704

झलक पाली/कार्तिक ३, डोटी ।
डोटीको जोरायलमा रहेको लक्ष्मी सरस्वती बहुउद्धेश्यीय सहकारी सँस्था लिमिटेडका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको वडा नं. ३ को कार्यालय अर्काे सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको छ ।
सो वडाका वडा अध्यक्ष दिनेश कुमार मल्लले एक सूचना प्रकाशित गर्दै सो वडाको रावतकट्टेको बस्तीमा कोरोना देखिएको भन्दै समुदायमा थप संक्रमण फैलन नदिन आ–आफ्नो स्थानमा सुरक्षित बस्न आह्वान गर्दै अर्काे सूचना जारी नहुँदासम्मका लागि वडा कार्यालय पनि बन्द गरिएको जनाएका छन् । सो वडाको जिरो प्वाइन्टदेखि सेलीवाडसम्म पूर्ण सिल गरिएको र सूचनाको उलङ्घन गरेमा रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ अन्तरगत कारवाही गरिने पनि सूचनामा उल्लेख छ ।
यसका साथै लक्ष्मी सरस्वती बहुउद्धेश्यीय सहकारी सँस्था पनि पूर्ण रुपमा बन्द गरिएको छ । सँस्थाका कार्यवाहक व्यवस्थापक विक्रम शाहले एक सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि सम्पूर्ण आर्थिक कारोबार बन्द भएको जनाएका छन् ।
त्यस्तै जोरायल गाउँपालिकामा रहेको कृषि विकास बैंकले पनि नगद कारोबार नगर्ने भएको छ । जोरायल गाउँपालिकाले बैंकलाई पत्र लेख्दै गाउँपालिकाबाट काटिएका चेकहरु आज सोमबारदेखि यहि कार्तिक ६ गतेसम्मका लागि कारोबार नगर्न अनुरोध गरेको छ ।


कृषि विकास बैंक स्वयं कोरोना संक्रमण देखिएका व्यक्तिको घरमा भाडामा रहेको छ ।
आफु केहि समय पहिले आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय लगाएतमा काम विशेष धनगढी गएको र त्यतैबाट आफुमा कोरोना सरेको हुनसक्ने कोरोना पोजेटिभ देखिएका सहकारीका कर्मचारी ठक्कर कठायतले नजर अनलाईनलाई बताए । आफुलाई त्यस्तो कुनै लक्षण नदेखिएको र अलग्गै आईसोलेट भएर बसेको उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनको असोज ३० गते स्वाव संकलन गरी डडेल्धुरा अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालामा पठाईएकोमा सोमबार कोरोना नतिजा पोजेटिभ देखिएको हो ।

 

Leave A Reply

Your email address will not be published.