डोटीका प्रजिअले नागरिकता वितरणमा नागरिकलाई सास्ती दिएको भन्दै जनमोर्चाका नेता योगीको आपत्ती

515

कार्तिक १६, डोटी ।

डोटीका प्रमूख जिल्ला अधिकारीले नागरिकता वितरणमा नागरिकलाई सास्ती दिएको भन्दै राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम प्रदेश कमिटि कोषाध्यक्ष एवं डोटी जिल्ला कमिटि सचिव केशव नाथ योगीले आपत्ती जनाएका छन् ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट लेख्दै आवश्यक सम्पूर्ण कागजात पूरा गरी नागरिकता लिन जिल्ला प्रशासन पुगेका नागरिकलाई फिर्ता गराएको भन्दै आपत्ती जनाएका हुन् ।
आइतबार के.आई.सिंह गाउँपालिका वडा नं. २ का रिउले भुल (उदय) र बहादुर सार्कीलाई नागरिक बडापत्रमा उल्लेख गरिएका कागजात सबै पूरा गरी जिल्लामा पुग्दा पनि फेरी थप प्रमाणहरु ५ जनाको मुचुल्का, सहिछाप र अहिलेसम्म नागरिकता नबनाउनुको कारण खुलाएर वडाबाट सिफारिस ल्याउन भनेपछि नेता योगीले आपत्ती जनाएका हुन् ।
ति दुइ जना भुल र सार्कीले करिब २०१७/०१८ सालतिरको जन्म भए पनि हालसम्म नागरिकता बनाउन नसकेको र अहिले नागरिकता बनाउन आउँदा आवश्यक कागजात पूरा गरी आएको भए पनि नागरिकता नबनाई दिनु सिडिओको नाटक मञ्च भएको उनले संज्ञा दिएका छन् । आवश्यक प्रक्रिया पूरा गरीकन पनि नागरिकता नदिनुले कतै पैंसा वा घुस नदिएर त होइन भन्दै नेता योगीले प्रमूख जिल्ला अधिकारीमाथि प्रश्न उब्जिएको बताएका छन् ।
यस्तो छ उनको फेसबुक स्टाटस

यस विषयमा डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई बुझ्दा धेरै वर्ष पहिले जन्म भएको मानिसले नागरिकता लिन आउँदा लामो समयसम्म नागरिकता नबनाउनुको कारण नागरिकता फाँटकै कर्मचारीले नीतिगत रुपमा खोजी गरेकोले फाँटकै कर्मचारीलाई यस विषयमा जानकारी हुने बताए । साथै यो विषयमा आफुलाई फोन त आएको तर विस्तृत नबुझीकनै सामाजिक सञ्जालमा लेखिएको प्रजिअ भट्टराईले बताए ।
यस बारेमा जिल्ला प्रशासन कार्यालय डोटीको नागरिकता फाँटका खरिदार सुरेन्द्र जोशीलाई बुझ्दा आइतबार ति मानिसहरु नागरिकता लिन आएको तर वि.सं. २०१७/१८ सालतिर जन्म भएर पनि नागरिकता नबनाईएको हुँदा नबनाउनुको कारण वडाबाटै सिफारिस माग गरिएको बताए ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवकुमार राई बिदामा बाहिर रहेको एवं प्रमूख जिल्ला अधिकारी एक्लैले काम गर्नुपर्ने अवस्था रहेको र आइतबार सेवाग्राहीको भीड पनि बढी रहेकाले ति व्यक्तिहरुको जन्म मिति र नाम ठेगाना बारेमा आफुलाई एकिन स्मरण पनि नरहेको उनले बताए ।
राष्ट्रिय जनमोर्चाका नेता योगीले फेसबुकमा नागरिकता वितरणबारे आपत्ती प्रकट गरे लगत्तै डोटीका पत्रकार रामहरी ओझाले पनि यस विषयमा चासो व्यक्त गरेका छन् । उनले यस्तो लेखेका छन् – नेपाली नागरिकताको प्रमाणपत्र कसले लियो, कसले लिएन भन्ने जिल्ला प्रशासन कार्यालयमा रेकर्ड हुन्छ कि हुन्न ? ढिलो गरि किन नागरिकता लिएको भनेर दुःख दिन मिल्छ कि मिल्दैन ? सत्य कुरा के हो ? आरोप मात्र हो वा कमजोरी भएको हो ? सार्वजनिक गर्नु पर्छ !
पत्रकार ओझाको स्टाटसमा कमेन्ट गर्दै जिल्ला समन्वय समिति डोटी प्रमूख राम ऐरले नागरिकता वितरणको विषयमा आएको गुनासोलाई इंकित गर्दै यो अत्याचार भएको र धेरैले गुनासो गरिरहेको उल्लेख गरेका छन् ।

जनमोर्चाका नेता योगीको स्टाटसमा पनि नागरिकता वितरणका विषयमा गुनासो नै गुनासोका कमेन्टहरु रहेका छन् ।

Leave A Reply

Your email address will not be published.