बाल सुधार गृहका २७ सहित डोटीमा थप ३५ जनामा कोरोना पुष्टी
कार्तिक १६, डोटी ।
डोटीमा रहेको बाल सुधार गृहका २७ जना सहित डोटीमा आइतबार थप ३५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय डोटीले जारी गरेको विज्ञप्ती अनुसार डोटीको सिलगढीमा रहेको बाल सुधार गृहका मात्रै २७ जनामा र अन्य ८ जना गरी थप ३५ जनामा कोरोना संक्रमण देखा परेको जनाएको छ ।
संक्रमित हुनेहरुमा दिपायल सिलगढी नगरपालिका वडा नं. ६ सिलगढीका ५ जना रहेका छन् । यद्यपी बाल सुधार गृहका २७ जनालाई पनि वडा नं. ६ कै तथ्याङ्कमा समेटिएको छ ।
कोरोना महामारीकै कारण बिचमा बाल सुधार गृहमा राखिएका केहि बालकहरुलाई अभिभावकको जिम्मा लगाई घर पठाईएकोमा उनिहरु फर्केर सुधार गृहमा आउँदा सार्वजनिक यातायातमा आएका कारण र राशन खरिदमध्ये कुनै कारणले सुधार गृहका बालकहरुमा कोरोना संक्रमण भएको हुनसक्ने सुधार गृह प्रमूख सानुमाया लिम्बुले बताईन् ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं. ४ का एक पुरुष र वडा नं. ५ का एक महिलामा कोरोना पुष्टि भएको छ भने बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ का एक पुरुषमा पनि संक्रमण देखिएको हो । उनिहरु सबैको जिल्ला अस्पताल डोटीमा पिसिआर परीक्षण गरिएको हो । उनिहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै होम आइसुलेशनमा रहेको जनाईएको छ ।
यससँगै डोटीमा कोरोना संक्रमित हुनेको कूल संख्या १ हजार २ सय ८४ पुगेको स्वास्थ्य कार्यालय डोटीले प्रकाशन गरेको कोरोना सम्बन्धी ९२ औं प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
