डोटीका एक पुरुष बैतडीमा झुण्डिएर मृत अवस्थामा भेटिए

657

कार्तिक १९, बैतडी ।
डोटीका एक पुरुष बैतडीमा झुण्डिएर मरेको अवस्थामा भेटिएका छन् ।
डोटीको सायल गाउँपालिका वडा नं. १ छपालीको बरगाउँ बस्ने अन्दाजी ५० वर्षका मान बहादुर सिंह बैतडीको मेलौली नगरपालिका वडा नं. ३ ढणन भन्ने ठाउँमा रुखमा झुण्डिएर मरेको अवस्थामा फेला परेका हुन् ।
घटना ४ दिन पहिलेको भए पनि हिजो मंगलबार मात्रै जानकारी पाउँदा हिजै आफु घटना स्थल पुगेको मृतकका भाइ नाता पर्ने निर्देशक तथा मोडल जनक सिंहले घटना स्थलबाट जानकारी दिए । घरपरिवारमा ढिलो जानकारी आएको र अहिलेसम्म पनि शव ननिकालिएको उनले बताए । मृतकका घरपरिवारबाट आफन्तहरु घटनास्थलतर्फ गईरहेका छन् ।
समाचार श्रोतका अनुसार मृतक सिंहकी बुहारीको बैतडीमा माइती घर हो । दशैंमा माइत गएकी बुहारी घरमा बोलाउन गएका उनका शशुरा रुखमा झुण्डिएर मरेको अवस्थामा भेटिएका हुन् । करिब ४ वर्ष पहिले विहे गरेका मृतकका छोरा पदम सिंह भने कामको शिलशिलामा भारतमा थिए । घटनापछि नेपाल आईरहेको जनाईएको छ ।
बुहारी बोलाउन सम्धीको घर पुगेका सिंह कार्तिक १६ गते राती रुखमा झुण्डिएर आत्महत्या गरेको भनिएता पनि मृत्युको कारण खुल्न नसकेको बताईएको छ ।
ढणन भन्ने गाउँबाट करिब डेढ किलोमिटर टाढाको जङ्गलमा सानो रुखमा झुण्डिएको उनको शवलाई प्रहरीले ३ दिनदेखि कुरेर बसिरहेको र आज बुधबार मुचुल्का तयार गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने तयारी भईरहेको जनाईएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ ।

Leave A Reply

Your email address will not be published.