सिड नेपाल डोटीको परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

990

मंसिर २२, डोटी ।

स्वास्थ्य क्षेत्रमा क्रियाशील गैर सरकारी सँस्था समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले विभिन्न स्थानीय तहमा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
वर्ल्ड भिजन इन्टर नेशनल नेपालको सहयोगमा सिड नेपालले शुरु गर्न लागेको टाकेडा हेल्थी भिलेज परियोजना र एकिकृत बाल संरक्षण तथा समुदाय आबद्धता परियोजनाको विभिन्न स्थानीय तहहरुमा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको सँस्थाका कार्यक्रम संयोजक किशोर शेनले बताए ।
२० नोभेम्बर २०२० देखि लागु भई सेप्टेम्बर २०२१ सम्म परियोजना लागु हुने क्षेत्र पूर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका र दिपायल सिलगढीमा नगरपालिकामा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।
परियोजनाको लक्ष्य, उद्धेश्य र सञ्चालन गरिने गरिने क्रियाकलाप तथा प्रस्तावित बजेटबारे सरोकारवालाहरुलाई जानकारी गराउन उक्त परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको सिड नेपाल डोटीका अध्यक्ष शेर बहादुर मल्लले जानकारी दिए ।
पाँच वर्ष मूनिका बालबालिका, गर्भवती महिला तथा आमाहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउन योगदान पुर्याउने टाकेडा हेल्थी भिलेज परियोजनाको लक्ष्य रहेको छ ।
त्यस्तै बालबालिकाहरुलाई माया, ममता, संरक्षित र शशक्तिकरण गर्ने एकिकृत बाल संरक्षण तथा समुदाय आबद्धता परियोजनाको लक्ष्य रहेको सिड नेपाल डोटीले जनाएको छ ।
टाकेडा हेल्थी भिलेज परियोजना डोटीको दिपायल सिलगढी नगरपालिकाको वडा नं. १ तिखा, आदर्श गाउँपालिकाभरी र सायल गाउँपालिकाको वडा नं. १ छपालीमा लागु हुनेछ । जसका लागि १ करोड २ लाख ८ हजार २ सय २७ रुपैंया बजेट रहेको छ ।
त्यस्तै बाल संरक्षण तथा समुदाय आबद्धता परियोजना आदर्श गाउँपालिकाको वडा नं. ६ बाहेक अन्य सबै वडाहरुमा, सायल गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा, दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ र ९ मा तथा पूर्वीचौकी गाउँपालिकाको वडा नं. १, २ र ३ मा लागु हुनेछ । उक्त परियोजना बजेट १ करोड, ७८ लाख, ७१ हजार १ सय ९२ रुपैंया रहेको सँस्थाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.