दिपायल सिलगढी नगरपालिकाका २४० जना किशोरीलाई आत्मरक्षा तालिम दिइदै
मंसिर २३, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिकाका ६ वटा सामुदायिक माध्यमिक विद्यालयका २ सय ४० जना किशोरीलाई आत्मरक्षा तालिम दिन लागिएको छ ।
किशोरीमाथी हुनसक्ने सम्भावित हिंसाबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा तेक्वान्दो सम्बन्धि आधारभूत प्राविधिक सिप र सैद्धान्तिक तालिम दिन लागिएको हो ।
जस अन्तरगत मङ्गलबार पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयका ४० जना छात्राहरुलाई तालिम दिन शुरू गरिएको छ ।
संख्या पुगेसम्म कक्षा १० मा अध्ययनरत र नपुगेमा कक्षा ९ का समेत गरि प्रत्येक विद्यालयबाट ४० जनालाई तालिम दिइने दिपायल सिलगढी नगरपालिका, महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बुले जानकारी दिइन ।
तालिम दिइने ६ वटा विद्यालयमध्ये २ वटा विद्यालयमा नगरपालिकाले र ४ वटा विद्यालयमा सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले तालिमका लागि सहयोग गर्ने सिडिसीका सामुदायिक विकास परियोजनाका शिक्षा विकास अधिकृत एकराज बडुले जानकारी दिए ।
तालिममा दिपायल सिलगढी नगरपालिका, महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बु, सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशी, सिडिसीका एकराज बडुले सैद्धान्तिक रूपमा तथा जिल्ला खेलकुद विकास समिति डोटीका प्रमुख हर्क बोगटी र तेक्वान्दो खेलाडी श्याम नेपालीले प्राविधिक सीप सिकाइ रहेका छन् ।
प्रत्येक विद्यालयमा २ दिने तालिम संचालन हुने दिपायल सिलगढी नगरपालिकाले जनाएको छ ।