सायल स्वास्थ्य शाखाले निशुल्क ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालन गर्दै
प्रेम नेपाली
माघ ४, डोटी (छपाली) ।
डोटीको सायल गाउँपालिका, स्वास्थ्य शाखाले गाउँपालिकाभित्रका सम्पूर्ण स्वास्थ्य सँस्थाहरुमा निशुल्क ग्रामीण अल्ट्रासाउनण्ड कार्यक्रम शुरु गरेको छ ।
विशेष गरि ग्रामीण क्षेत्रका गर्भवती महिलाहरु गाउँभन्दा बाहिर गएर भिडियो एक्सरे नगर्ने गरेका कारण गर्भवती महिलाको पेटभित्रको बच्चाको अवस्था थाहा नहुने र ति महिलाहरू सुत्केरी हुँदाको जोखिमलाई घटाउने उद्धेश्यले गाउँकै स्वास्थ्य सँस्थामा सेवा दिने गरी उक्त कार्यक्रम शुरुवात गरिएको सायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवराज जोशीले जानकारी दिए ।
जस अन्तरगत आईतबार मात्रै सायल गाउँपालिका वडा नं. १ मा रहेको छपाली स्वास्थ्य चौकीबाट १८ जना गर्भवती महिलाहरुले अल्ट्रासाउण्ड सेवा लिएका छन् ।
एक विशेष कार्यक्रमकाबिच सेवा प्रदान गरिएको कार्यक्रममा सो वडाका वडा अध्यक्ष एवं छपाली स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष हिरा बहादुर थापाले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम दुरदराजका महिलाहरुका लागि एकदमै महत्वपूर्ण सेवामूलक भएको र सबै गर्भवती महिलाहरुले सेवा लिन आग्रह गरे । साथै स्वास्थ्यचौकी स्तरमा आएर सेवा प्रदान गरेकोमा गाउँपालिकाको स्वास्थ्य शाखा परिवालाई वडा अध्यक्ष थापाले धन्यवाद समेत ज्ञापन गरे ।

ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको सायल गाउँपालिका कार्यपालिका सदस्य जुनादेवी बिकले उद्घाटन गरेकी थिइन् । उक्त अल्ट्रासाउण्ड सेवा दिनका लागि हालका लागि गाउँपालिका भरिमा एकजना स्वास्थ्यकर्मीलाई तालिम दिईएको छ । तिनै स्वास्थ्यकर्मिले अब महिनाको एक पटक गाउँपालिकाका सबै स्वास्थ्य सँस्थाहरुमा गएर सेवा दिने बताईएको छ ।
महिना महिनामा गाउँकै स्वास्थ्य सँस्स्थामा अल्ट्रासाउण्ड सेवा पाउने भएपछी गर्भवती महिलाहरूले खुशी व्यक्त गरेका छन् ।