नागरिकको आयस्तर बृद्धी गर्न जडीबुटीको क्षेत्रमा लगानी बढाइने : मन्त्री आले
बिमल बिष्ट
माघ ४, काठमाण्डौ ।
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशको आयश्रोत तथा नागरिकको आर्थिक स्थिती बढाउनका लागि जडीबुटीको क्षेत्रमा लगानी बढाइने बताउनुभएको छ ।
आज आइतबार जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर लगायतका क्षेत्रमा अवलोकन भ्रमणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अवलोकनका क्रममा मन्त्री आलेले नेपाल जडिबुटीका क्षेत्रमा निकै धनी भएकाले आफ्नो देशमा उत्पादन हुने ती जडिबुटीहरु आफ्नै देशमा सदुपयोग गर्न सरकार लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रै देशमा उत्पादन हुँने जडिबुटी लगेर छिमेकी मुलुक धनी भइसकेको छ, पतञ्जलीले करोडौँ रकम कमाइ सकेको छ, अब हाम्रा जडिबुटी नेपालमा प्रशोधन गरी यहाँका नागरिकको आयस्तर बढाउनुपर्छ ।”
सोही क्रममा बोल्नुहुदै मन्त्री आलेले जडिबुटी उत्पादनको क्षेत्रमा सरकारले लगानी गर्ने भएकाले इच्छुक नागरिक, फर्मा तथा कम्पनीहरुलाई निकै फाइदा पुग्ने बताउनुभयो । सरकारी स्वामित्वको जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी लिमिटेड कोटेश्वरलाई थप व्यवस्थित बनाउनका लागि मन्त्रालयले गृहकार्य अघि सारेको समेत जानकारी दिनुभयो । “अब एक घर एक जडिबुटी खेती भन्ने योजना अघि सारिने छ” उहाँले भन्नुभयो, “बेरोजगार युवालाई रोजगारी पनि हुने तथा आफ्नो आयस्तर पनि बढ्ने भएकाले अरु खेती गर्नुभन्दा जडिबुटी खेती गर्नु राम्रो हुनेछ ।”
यसैगरी जडिबुटी खेती गर्ने किसानलाई सरकारले अनुदानको समेत व्यवस्था गर्ने मन्त्री आलेले जानकारी दिनुभयो ।
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वरका महा–प्रबन्धक ज्ञानेन्द्र कार्कीले कर्णाली प्रदेशको जाजरकोटमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिएको र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी निर्माणको सिलसिलामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कञ्चनपुरमा हाम्रो आफ्नै २० रोपनी जमिन छ, उक्त जमिनमा हामी उत्पादन तथा प्रशोधन केन्द्र निर्माण गर्दैछौं, जसले गर्दा त्यहाँका जडिबुटी खेती गर्ने किसानलाई फाइदा हुनेछ ।”
उक्त अनुगमनका क्रममा महा–प्रबन्धक कार्कीले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडसँग देशभरीमा कुल ४३२.८ हेक्टर जमिन रहेको र ८०० बिगाहामा जडिबुटी खेती भइरहेको जानकारी समेत दिनुभयो ।