प्रेस संगठन नेपालको दोश्रो राष्ट्रिय भेला आज हुँदै
माघ ८, डोटी ।
प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आज विहीबार काठमाण्डौमा आयोजना हुँदैछ । राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा बिहान ११ बजेबाट आयोजना हुने भेलालाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको प्रेस संगठन नेपालका सह-संयोजक गणेश बस्नेतले जानकारी दिएका छन् ।
भेलामा सहभागी हुन प्रेस संगठन नेपालमा आवद्ध देशभरका अधिकांश प्रतिनिधिहरु काठमाण्डौ पुगिसकेका छन भने नजीकका कतिपय जिल्लाबाट पुग्ने क्रम जारी रहेको छ ।
भेलामा उप-प्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल), अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र सञ्चारमन्त्री पार्वत गुरुङको पनि उपस्थिति रहने जनाइएको छ ।
नेकपामा शीर्षस्थ नेतृत्व विवाद चुलिदै गएपछि पार्टी फुटको संघारमा पुगेको बेला त्यसको असर प्रेस संगठनमा पनि परेको हो ।
पार्टी औपचारिक विभाजन भइनसकेको भए पनि केपी ओली नेतृत्वको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको समूहले केन्द्रदेखि जिल्ला तहमा छुट्टाछुट्टै संगठन निर्माण गर्न थालिसकेका छन् ।
त्यसकै परिणामस्वरूप नेकपा प्रचण्ड-नेपाल समुहको पत्रकार भेला काठमाण्डौको कमलादीस्थित प्रज्ञा भवन माघ ६ गते सम्पन्न भैसकेको छ ।