सुदूरपश्चिममा प्राङ्गारिक-कृषि प्रणाली शुरु गरिंदै
फाल्गुन १७, डोटी ।
सुदूरपश्चिममा प्राङ्गारिक-कृषि प्रणाली शुरूवात गर्न लागिएको छ ।
खेती प्रणालीमा रासायनिक प्रयोग बढ्दै जाँदा हुने असरलाई न्यूनीकरण गर्न प्राङ्गारिक-कृषि प्रणाली शुरूवात गर्न लागिएको हो ।
सुदूरपश्चिममा प्राङ्गारिक-कृषि प्रणालीका लागि ४ करोड बजेट विनियोजन गरि ९ वटै जिल्लामा काम शुरु भएको सुदूरपश्चिम कृषि विकास निर्देशनालय राजपुर डोटीका निर्देशक यज्ञराज जोशीले जानकारी दिए ।
जस अन्तरगत डोटीको पुर्वीचौकी गाउँपालिका २ बग्लेकमा आलु खेतीमा प्राङ्गारिक-कृषि प्रणालीको थालनी गर्न लागिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।
विश्वमै रासायनिक विषादी प्रयोग बढ्दै जाँदा त्यसले विभिन्न खालको असर पारिरहेको हुँदा प्राङ्गारिक कृषि प्रणालीमा जोड दिन थालिएको पनेरुले बताए । यद्यपि सो क्षेत्रमा सिचाइ समस्या रहेको एवं त्यहाँका किसानले प्राङ्गारिक तवरले आलुखेती गर्दा कुनै प्राविधिक समस्या आएमा त्यसको व्यवस्थापनको लागी समयमै सोच्नुपर्ने पुर्वीचौकी गाउँपालिका २ का वडा अध्यक्ष योगेन्द्र ठकुल्लाले बताए ।
सुदूरपश्चिम प्रदेशको नयाँ कार्यक्रमका रूपमा प्राङ्गारिक-कृषि प्रणाली शुरूवात गर्न विशेष गरि उपभोक्ता सचेत हुनुपर्ने कृषि विकास निर्देशनालयका निर्देशक जोशीले जोड दिए । यससँगै स्थानीय जनप्रतिनिधि, कृषिमा कार्यरत निकायका कर्मचारी र किसान सबैले प्राङ्गारिक कृषिबारे बुझ्नु जरुरी रहेको उनको भनाइ छ । जसका लागि सबै सरोकारवालाहरुको सहभागितामा रणनीतिक योजना बनाउन आवश्यक रहेको जोशीले जोड दिए ।
प्राङ्गारिक खेतीप्रती उत्प्रेरित गरिनुपर्ने र यसबारे सचेतता जगाउनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जोड दिए ।
हरेक सरोकारवालाले औपचारिक अनौपचारिक कार्यक्रममा प्राङ्गारिक खेतीबारे सवाल उठाउनुपर्ने जिल्ला समन्वय समिति डोटीका प्रमुख राम बहादुर ऐरको जोड छ।
पौष्टिक उत्पादन, वातावरण सन्तुलन, स्वास्थ्य सन्तुलन, माटोको गुणस्तर कायम गर्न सकिने, आम्दानी बढी लिन सकिने, स्थानीय श्रोत साधनको सदुपयोग गरि प्राङ्गारिक उत्पादनलाई ब्रान्डको रूपमा अगाडी बढाउन सकिने हुन्छ ।
सिद्धान्तत: तीन वर्षसम्म खेती गरिसकेपछि हुने उत्पादनको ब्रान्ड सहित लेवलिङ्ग, प्याकेजिङ्ग गरेर बजारीकरण गर्न सकिन्छ ।