सुदूरपश्चिममा गौरा पर्व शुरु

432

झलक पाली
डोटी

सुदूरपश्चिमको मौलिक धार्मिक तथा साँस्कृतिक पर्व गौरा आइतबारदेखि शुरु भएको छ ।
भाद्र शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर बिरुडा राखेका छन् ।
घरको एक कोठामा गाईको गोबरले लिपपोत गरी तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर एवं धुप बत्ती बालेर पञ्चअन्न राखी भगवान महेश्वरको आह्वान गरी विरुडा राख्ने गरिन्छ ।
महिलाले मङ्गल गीतहरु गाउँदै गाउँका पँधेरो, खोला र नदीका मुहानमा बिरुडा भिजाउने कार्य गरिन्छ । षष्ठी तिथिमा पञ्च वनस्पति धान, साउँ, तिल, बेल र पातीको पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने विवाहित महिलाले गौरा पर्वमा व्रत बसी कण्ठसूत्र (दुव धागो) धारणा गर्नुपर्ने र पुरुषसरह गायत्री जप गरी भोजन ग्रहण गर्ने धार्मिक प्रचलन छ ।
त्यस्तै सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन रहेको छ । सात गाँठो पारिएको दुबोसहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुट्टामा राख्ने गरिन्छ ।
अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आशनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाँच्ने गर्दछन् । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो समेत गरिन्छ ।
विगतका वर्षहरुमा सामूहिक भेला भई गौरा भित्राउने चलन रहेपनि यस वर्ष विश्वभर फैलिएको महामारी कोरोना भाइरसका कारण महिलाहरुले घर परिवारका सदस्यहरु मिलेर गौरा भित्राएका छन् ।
गौरा पर्वको महत्वपूर्ण दिन अष्ठमीमा महिलाले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आँगनमा ल्याई श्रृङ्गार गरी सगुन गीत गाउँदै टाउकामा राखेर महिलाले नाच्ने गर्दछन् ।
हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा पर्व मनाउने गरिएको कथन छ । पार्वतीले शिव पति पाए झैं अविवाहित युवती शिव जस्तै पति पाउन भनी व्रत बस्ने गर्दछन् । व्रत बसेको अठेबालीका दिन गौरा देवीको प्रतिमालाई टाउको राखेर नचाउने गर्छन् भने पुरुषहरुले धमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् ।
गौरीको प्रतिमासँगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतीक मानेर राख्ने गरिन्छ । यस बेलामा दुबो धागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ । यस बेलासम्म महिलाहरु निराहार हुन्छन् र कसैले फलाहार गर्छन् ।
यसअघि महिलाहरुले आफना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् ।
अठेबालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् ।
गौरा मनाउन देश विदेशबाट समेत घर आउने चलन छ । गौरामा नयाँ लाउने र मीठो खाने गरिन्छ ।
गौराको अन्तिम दिन बाजागाजासहित जलाशय वा नदी किनारहरुमा विर्सजन गरिन्छ । गौरा पर्वको अवसरमा सरकारी विदा पनि दिने गरिएको छ ।
सुदूरपश्चिमको विशेष चाड गौरालाई पछिल्ला वर्षहरुमा काठमाण्डौको टुँडिखेलमा पनि विशेष रुपमा मनाईंदै आएकोमा यस वर्ष भने सुदूरपश्चिमतिर समेत रौनक सेलाएको छ ।

Leave A Reply

Your email address will not be published.