कोभिड-१९ विरुद्ध खोप अभियानबारे अभिमुखिकरण सम्पन्न
फाल्गुन २३, डोटी ।
कोभिड-१९ विरुद्ध खोप अभियानबारे दिपायल सिलगढी नगरपालिका डोटीस्तरीय खोप समन्वय समितिसँग अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
नगरपालिका प्रमुख मन्जु मलासीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरणमा कोभिड-१९ विरुद्धको खोप अभियानको दोश्रो चरणका बारेमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश भण्डारीले प्रस्तुतीकरण सहित जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगर प्रमुख मलासीले नगरभित्रका सबै वडासम्म व्यवस्थित र प्रभावकारी ढङ्गले खोप अभियान सञ्चालन गर्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीले जिम्मेवार भएर लाग्नुपर्ने बताइन् ।
देशभर आइतबारदेखि दोस्रो चरणको खोप अभियान शुरु भए पनि खोपको उपलब्धता र जिल्लाभित्रको योजना अनुसार दिपायल सिलगढी नगरपालिकामा फाल्गुन २५ गतेदेखि खोप लगाउने तयारी रहेको छ ।
दिपायल सिलगढी नगरपालिकाका सम्पूर्ण वडाहरुमा पनि कोभिड-१९ विरुद्धको खोप अभियान बारे अभिमुखिकरण गरिने जनाइएको छ ।
दोस्रो चरणमा ६५ वर्ष माथी उमेर समुहका नागरिकहरुलाई कोभिसिल्ड खोप लगाइदैछ ।