प्लेटोको जीवनी र साम्यवाद

811

– मिन बहादुर रोकाया

जीवनी
विश्वका प्रमुख राजनीतिक विचारकहरु मध्ये प्लेटो पनि एक हुन् । प्लेटो संगसंगै अरस्तु, सिसेरो, मेकियाबेली, बोदाँ, टमस हब्स, जन लक, रुसो, जर्मी बेन्थम, जन अस्टिन, जर्ज डब्लु. एफ. हेगेल, ग्रिन, जे. एस. मिल, कार्ल माक्स, हेरोल्ड लास्की, कौटिल्य र मनु आदिलाई पनि विश्वका प्रमुख राजनीतिक विचारकहरु नै मानिन्छन् । विश्वसभ्यताको उदयकालका अत्यन्त उज्याला गहना मानिने प्लेटोको जन्म ४२७ इ.पू.मा एथेन्सको एक धनी र भद्र परिवारमा भएको थियो । उनका पिता एरिस्टोन एथेन्सको राजकुलसँग सम्बन्धित थिए । माता पेरिक्टियोनी सोलोन वंशसँग सम्बन्धित थिएन । उनि सानै छँदा पिताको स्वर्गवास भएकाले आमाले अर्को बिहे गरिन् । प्लेटो सौतेनी बाबु कहाँ हुर्केका हुन्। उनको वास्तविक नाम एरिस्टोक्लिज भए पनि उनको शारीरिक बनावटका आधारमा उनका प्रध्यापक उनलाई प्लेटोन भन्दथ्ये । यसैबाट उनको नाम प्लेटो रहन गयो । उनको शिक्षादीक्षामा त्यस समयका महान विचारक सोक्रेट्सको प्रमुख हात थियो । त्यसैले प्लेटोको राजनीति चिन्तनको विवेचना गर्दा उनमा सोक्रेट्सको छाप जताततै परेको पाइन्छ । बाल्यकालदेखि नै उनमा संगीत र व्यायाममा रुची थियो । सुरुमा उनलाई लागेको थियो कि उनको जन्म सक्रिए राजनीतिमा उत्रिनकै लागि भएको हो । तर समयको चक्रले एस्तो पल्टा खायो कि कुशल राजनीतिज्ञ बन्ने आकाङक्षा भएका प्लेटो महान राजनीतिक विचारक बन्न पुगे ।
प्लेटोको राजनीतिज्ञ बन्ने आकाङक्षामा कुठाराघात गरेर उनको जीवनको ध्येयलाई नै बदलिने त्यो मोड बिन्दु सोक्रेट्सको हत्या थियो । एथेन्सको प्रजातान्त्रिक सरकारले सोक्रेट्समाथि युवकहरुलाई बरालेको आरोप लगायो र यस अपराधका लागि विषपान गर्न बाध्य गर्यो । यो घटनाले प्लेटोमा अमिट र मर्मस्पर्शी छाप पार्यो । उनमा राजनीति र प्रजातन्त्र दुवैप्रति घृणा पैदा भयो । परिणामस्वरुप उनले व्यवहारिक राजनीतिबाट सकेसम्म टाढा बस्ने अठोट गरे । साथसाथै प्रजातन्त्रको स्थानमा बौद्धिक कुलीनतन्त्रका पक्षमा आफ्नो विचारलाई केन्द्रित गरे । सोक्रेट्सको निर्मम प्राणहरणबाट रन्थनिएका प्लेटोले करिब बाह्र वर्षसम्म एथेन्स छाडे । यस अवधिमा उनले संसारका विभिन्न मुलुकहरु घुमफेर गरेर विविध कुराहरुको अध्ययन गर्ने मौका प्राप्त गरे । प्लेटो ३३७ इ.पू.मा एथेन्स फर्के र सहरको बाहिरी भागमा आफ्नो प्रज्ञा प्रतिष्ठान स्थापना गरे । यसै प्रतिष्ठानमार्फत उनले लामो समयसम्म मानिसहरुलाई तालिम उपलब्ध गराएर कानुनवेत्ता, राजनेता र नेताहरु तयार पार्ने कार्य गरे ।
यस समय अवधिमा प्लेटोले साना ठूला गरी तीस भन्दा बढी ग्रन्थहरु लेखे । उनका उल्लेखनीय ग्रन्थहरु Apology, Gorgias, Crito र Protagoras प्रमुख हुन् । तर राजनीतिक चिन्तनका दृष्टिबाट भने उनका महान कृतिहरु Republic Statesman र Laws हुन् । Laws प्लेटोले आफ्नो जीवनको अन्तिम समयतिर रचेको एउटा प्रमुख कृति हो । जसभित्र उनको व्यवहारिक र वैचारिक परिपक्वता झल्किएको पाइन्छ । आफ्नो आदर्श राज्यविषयक विचारको असफलतापछि उप–आदर्श राज्यको मान्यताको प्रतिपादन गरेका प्लेटोको ८१ बर्षको उमेरमा देहवसान भयो ।

साम्यवाद (Communism)
प्लेटोको राजनीतिक चिन्तनको निचोड भनेको ʻआदर्श राज्य ʼ (Ideal State( हो । उनि यसका लागि शासक वर्ग, सैनिक वर्ग र उत्पादक वर्गका बिच समन्वयको आवश्यकताको महशुस गर्दछन् । यस्तो समन्वय या सन्तुलन ʻन्यायʼ ले उपलब्ध गराउँछ । सबै वर्ग आफ्ना–आफ्ना थान्कामा बस्नु र आफ्नो कर्तव्य पालन गर्दै जानु न्याय हो । कर्तव्यको बोध शिक्षाले गराउँछ । राज्यमा सबैको हितको संरक्षण गर्ने काम संरक्षकवर्गको हो । तिनलाई न्याय र शिक्षाले सम्पन्न गराए पनि तिनमा निहित दुर्बलता र अन्य कारणहरुले शासकवर्ग पथभ्रष्ट हुने डर रहन्छ । वास्तवमा शासक वर्गको बुद्धि र विवेकलाई भ्रष्ट हुनबाट जोगाउनका लागि नै प्लेटोले पत्नी र सम्पत्तिको साम्यवाद (Communism of Wives and Property ) को मत अघि सारेका छन् । उनको विचारमा मानिसका प्रमुख दुइ वटा दुर्बलताहरु हुन्छन् – सम्पत्ति (Property) र परिवार (Family)। यी कमजोरीका कारणले शासक भ्रष्ट हुन सक्छ र आदर्श राज्य नष्ट हुन सक्छ । त्यसैले उनि यी दुवैलाई सामूहिक स्वामित्वमा ल्याएर दुवैको अन्त्य गर्न चाहन्छन् ।
यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने प्लेटोद्वारा प्रतिपादित साम्यवाद संरक्षकवर्ग (Guardian Class) का लागि मात्रै हो । उनि उत्पादकवर्गका लागि साम्यवादी व्यवस्थाको आवश्यकता देख्दैनन् । सैनिक र शासकवर्ग, जसलाई उनि संरक्षकवर्ग भन्दछन्, तिनका लागि मात्रै यो व्यवस्था जरुरी देख्दछन् ।

सम्पत्तिको साम्यवाद (Communism of Property )
प्लेटो संरक्षकवर्गका लागि सम्पत्तिको साम्यवादको मनोवैज्ञानिक र राजनीतिक आधारमा वकालत गर्छन् । उनका अनुसार सम्पत्तिमा त्यस्तो आकर्षण हुन्छ जसले व्यक्तिलाई पथभ्रष्ट बनाइदिन्छ । त्यसैले उनि व्यक्तिमाथि यस प्रकारको मनोवैज्ञानिक प्रभाव पार्ने सम्पत्तिमाथि व्यक्तिगत स्वामित्वलाई समाप्त पार्ने प्रस्ताव गर्छन् । दृढभन्दा दृढ विचारको व्यक्ति पनि धन देखेपछि विचलित हुन्छ । भनाइ नै छ,– धन देखेपछि महादेवका पनि तीन नेत्र । तसर्थ प्लेटो अभिभावकवर्गको मनमस्तिष्कबाट सम्पत्तिको मोह नामेट गर्न चाहान्छन् ।
राजनीतिक दृष्टिबाट उनको तर्क के छ भने राजनीति र आर्थिक शक्ति एकै ठाउँमा केन्द्रित हुनु हुदैन । किनकि त्यस्तो भयो भने त्यसले शासकलाई भ्रष्ट तुल्याउँछ । त्यसैले उनि अभिभावक वर्गले त्यति मात्रै सम्पत्ति राख्नुपर्छ । जति कि जीवन धान्न आवश्यक हुन्छ भन्छन् । उनिहरुले ब्यारेकमा बस्नुपर्छ, सुनचाँदीबाट टाढा बस्नुपर्छ र साझा भान्सामा भोजन गर्नुपर्छ भन्दछन् ।

परिवार वा पत्नीको साम्यवाद (Communism of Wives or Family)
प्लेटो संरक्षकवर्गको स्थायी परिवारका विरोधी छन् । उनले अस्थायी रुपमा पत्नी राख्ने वा हुने कुरालाई रुचाए पनि उनी स्थायी रुपमा विवाहका कट्टर विरोधी छन् । उनी प्रथमतः नारीजातिका लागि विकासको बाटो खोल्नलाई यस्तो चाहान्छन् । दोस्रो कुरा के भने परिवारको मोहले मानिसलाई कातर बनाउँछ र उनीहरु स्वार्थी हुन पुग्छन् । उनको तेस्रो तर्क के छ भने परिवारले सन्तानलाई ज्यादा पुलपुल्याएर सही शिक्षा दिन सक्दैन । अन्त्यमा उनको मत के पनि देखिन्छ भने परिवारको प्रचलित प्रणालीले दुर्बल र अयोग्य सन्तान जन्माउँछ । आदर्श राज्यका लागि दार्शनिक शासक र हृष्टपुष्ट सेनाको आवश्यकता पर्ने हुँदा परिवारको प्रचलित स्वरुपमै उनि आमूल परिवर्तन चाहान्छन् ।
उनि संरक्षकवर्गलाई पारिवारिक मायाजालबाट मुक्त राख्न पत्नीको साम्यवाद सुझाउँछन् । यस व्यवस्था अनुसार अभिभावकवर्गले बिहेवारी गरी स्थायी घर बसाउँन पाउँदैनन् । उनिहरुले तोकेअनुसार तोकेको समयका लागि अस्थायी विवाह गर्न सक्छन् । उनको विचारमा स्वस्थ, सुन्दर र कुशल बुद्धि भएका पुरुषहरुले त्यस्तै नारीसँग मात्र निर्देशित समयमा बिहे गरी सन्तान उत्पादन गर्नुपर्दछ । यस्तो विवाहको उद्देश्य स्वस्थ सन्तान जन्माउनु हो ।
सुन र सुनको मेलबाट मात्र शुद्ध सुन तयार हुन सक्छ भन्ने उनको धारणा छ । सन्तान जन्मिनासाथ विवाह भंग हुन्छ र शिशु राज्यको संरक्षणमा पुग्छन् । त्यसरी जन्मेका सन्तान कुनै एकका नमानिएर राज्यका सन्तान हुन्छन् । शासकवर्ग आफना सन्तानप्रति स्वार्थी हुन छाडेर सबै सन्तानप्रति समान रुपले ममताको वर्षा गर्न सक्षम हुनेछन् ।

साम्यवादको उद्देश्य (Objectives of communism)
अभिभावकवर्गलाई सम्पत्ति र परिवारको सुखबाट वञ्चित राख्नुका पछाडि प्लेटोका निम्नलिखित उद्देश्यहरु थिए –

१) शासकवर्गको विवेकको रक्षाः प्लेटो आफ्नो आदर्श राज्यमा प्रज्ञावान् तथा जितेन्द्रिय दार्शनिकहरुको शासन चाहान्छन् । अर्कातिर सम्पत्ति र परिवारको मोहले उनिहरुलाई पथविमुख पार्दछ । त्यसैले प्लेटो आफ्ना संरक्षकवर्गलाई यी दुइ दुर्गुणबाट अलग राखी उनिहरुको विवेकको रक्षा गर्न चाहान्छन् ।

२) राज्यको एकताको रक्षाः राज्यको एकतालाई बनाइराख्न त्यहाँ विद्यमान विभिन्न वर्गका बिच हुन सक्ने सङ्घर्षलाई पन्छाउन सक्नुपर्छ । सङ्घर्षलाई पन्छाएर एकता कायम शासकवर्गलाई सम्पत्तिविहिन बनाउनुपर्छ । ताकि उनिहरु गरिबहरुको ईर्ष्याका पात्रहरु नबनून् ।

३) राजनीतिक र आर्थिक शक्तिलाई अलग राख्नेः राजनीतिक र आर्थिक शक्ति एकै वर्गका हातमा रहन गए अनिष्ट हुन्छ भन्ने प्लेटोलाई थाहा थियो । त्यसर्थ शासकवर्गलाई सम्पूर्ण राजनीतिक सत्ता सुम्पिँदा पनि उनि आर्थिक साधन र स्रोतबाट वञ्चित राख्छन् ।

४) सन्तति सुधारः प्लेटोको के अभिमत छ भने स्वस्थ ह्रष्टपुष्ट र समयानुकुल युवायुवतीको समागमबाट मात्रै तेजस्वी, वीर, कुशाग्र बुद्धिका सन्तान जन्मिन्छन् । त्यसैले उनी संरक्षकवर्गलाई परम्परागत निजी परिवारबाट मुक्त राख्न चाहान्छन् र सन्तति सुधारका उद्देश्यले परिवारको साम्यवाद अघि सार्छन् ।
५) नारी जातिलाई घरेलु दासत्वबाट मुक्तिः नारी एक कमजोर पुरुष हुन र पुरुष एक शक्तिशाली नारी हुन भन्ने प्लेटोको मत छ । उनी दुवैका बीच समानताका पक्षपाती छन् तर तत्कालीन ग्रिसमा नारीहरुमाथी दमन र भेदभाव थियो । त्यसर्थ उनि परिवारको साम्यवादको सिद्धान्त प्रतिपादन गरेर नारीजातिलाई घरेलु दासत्वबाट मुक्ति दिलाउन चाहान्छन् ।

सन्दर्भ स्रोतः कृष्ण पोखरेल – विश्वका प्रमुख राजनीतिक विचारक पुस्तकबाट ।

Leave A Reply

Your email address will not be published.