महिनावारी बिदा : छाउगोठ भत्काएर अर्को घेरा त बनाउँदै छैनौँ ?

288

– राजु नेपाली 

महिनावारीका बेला असह्य पीडा हुन्छ। कसैलाई अत्यधिक रक्तस्राव हुन्छ, कसैलाई पेट, कम्मर वा टाउको दुखाइले काम गर्न कठिन हुन्छ। कतिपयका लागि ती दिन आफ्नै ओछ्यानमा आराम गर्न पाए हुन्थ्यो भन्ने अवस्था हुन्छ। यस्तो अनुभव गर्नेका लागि ‘महिनावारी बिदा’ राहतको खबर हुन सक्छ। त्यसैले महिनावारी बिदा भन्नेबित्तिकै विरोध गर्नुपर्ने कारण छैन।
तर प्रश्न बिदा दिने कि नदिनेमा मात्र सीमित छैन। हामीले खोजेको आरामको अधिकार हो कि अलगावको अर्को रूप ?
सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयक, २०८३ संसदमा दर्ता गरेको छ, जसमा महिनावारी/रजस्वला बिदाको प्रस्ताव समावेश छ। प्रस्तावले एउटा बहसलाई अगाडि ल्याएको छ। महिनावारीसँग सम्बन्धित स्वास्थ्य समस्यालाई कसरी सम्बोधन गर्ने ?
महिनावारीको अनुभव सबैको एउटै हुँदैन। कसैका लागि सामान्य हुन्छ, कसैका लागि काम नै गर्न नसक्ने अवस्था। त्यसैले आवश्यक पर्दा आराम वा स्वास्थ्यसम्बन्धी सुविधा दिनुपर्छ। तर महिनावारी भएकै कारण सबै महिलालाई हरेक महिना छुट्टै श्रेणीमा राख्ने नीतिले ‘महिला भनेपछि कमजोर हुन्छन्’ भन्ने पुरानो धारणालाई नयाँ रूप दिन सक्छ।
हाम्रो समाजमा महिनावारी विभेदको इतिहास लामो छ। सुदूरपश्चिम र कर्णालीमा ‘छाउपडी’ त्यसको कठोर रूप हो। तर विभेद छाउगोठमा मात्र सीमित छैन। कतै भान्सामा पस्न नदिने, कतै पूजा गर्न रोक्ने, कतै दूध-दही छुन नदिने, कतै अलग्गै सुताउने।
रूप फरक भए पनि महिनावारीलाई अशुद्धतासँग जोड्ने सोच अझै विभिन्न ठाउँमा जीवित छ।
त्यसैले महिनावारी विभेदको कथा छाउगोठबाट मात्र सुरु हुँदैन, छाउगोठ भत्किएपछि पनि सकिँदैन।
छाउगोठ भत्काउने अभियानको लक्ष्य सुरक्षित छाउगोठ बनाउनु थिएन। लक्ष्य थियो, महिनावारी भएकी महिलालाई घरबाट बाहिर निकाल्नुपर्ने सोच नै अन्त्य गर्नु। महिला समूह, अधिकारकर्मी, स्थानीय अभियान, सांस्कृतिक कार्यक्रम र कानुनी प्रयासले यो बहसलाई अगाडि बढाए। आज धेरै ठाउँमा महिनावारी भएकी महिला आफ्नै घर र आफ्नै कोठामा बस्न सक्ने वातावरण बनेको छ।
अब महिनावारी बिदाको बहस गर्दा अर्को प्रश्न सोध्नुपर्ने बेला आएको छ ।
छाउगोठ भत्काएर आफ्नै घरमा फर्किएका महिलालाई कार्यालयमा अर्को अदृश्य घेरामा त राख्दैछैनौँ ?
सरकारी कर्मचारीले महिनावारी बिदा पाउने तर होटलमा काम गर्ने महिला, कारखानाका श्रमिक, पसलमा बस्ने महिला, घरेलु श्रमिक वा खेतमा ज्याला गर्ने महिलाको अवस्था उस्तै रहने हो भने समानताको प्रश्न अधुरै रहन्छ।
धेरै महिलाका लागि बिदाभन्दा पहिले आवश्यक कुरा हुन सक्छ—सफा शौचालय, पानी, प्याड तथा अन्य menstrual products, प्रयोग भएका सामग्री फाल्ने सुरक्षित व्यवस्था, केही समय आराम गर्ने ठाउँ र कामको प्रकृति अनुसार लचकता।
कार्यालयको कुर्सीमा बसेर एक दिन बिदा पाउनु र महिनावारीकै बेला खेतमा घण्टौँ काम गरिरहनुपर्ने महिलाबीचको दूरी घटाउनु नै वास्तविक श्रम न्याय हो।

विदेशको अनुभव 

महिनावारी बिदा नेपालको मात्र प्रयोग होइन। जापान, इन्डोनेसिया, दक्षिण कोरिया, ताइवान, स्पेनलगायत केही देशमा विभिन्न प्रकारका व्यवस्था छन्। स्पेनले २०२३ मा काम गर्न कठिन बनाउने गम्भीर महिनावारी अवस्थाका लागि sick leave को व्यवस्था गरेको छ।
तर विदेशमा चलेको नीति हुबहु नेपालमा सार्नु पर्याप्त हुँदैन। जापानमा लामो समयदेखि कानुनी व्यवस्था हुँदाहुँदै पनि यसको प्रयोग न्यून रहेको देखिन्छ । कानुन मात्र पर्याप्त हुँदैन । कार्यस्थलको संस्कृति पनि महत्त्वपूर्ण हुन्छ।

बिदा लिन महिनावारी प्रमाणित गर्नुपर्ने हो ?

महिनावारी निजी स्वास्थ्यसम्बन्धी विषय हो। बिदा लिनका लागि कर्मचारीले आफ्नो रक्तस्राव, पीडा वा मेडिकल रिपोर्ट पुरुष व्यवस्थापक वा सहकर्मीलाई देखाउनुपर्ने अवस्था हुनु हुँदैन।
नीति यस्तो हुनुपर्छ – कम जानकारीमा बढी सुविधा र बढी गोपनीयता।
कर्मचारीले आवश्यक स्वास्थ्य बिदा वा अन्य सुविधा सहजै माग्न सकून्, तर आफ्नो निजी स्वास्थ्य विवरण सार्वजनिक गर्न बाध्य नहोस्।

बिदाभन्दा ठूलो कुरा कार्यस्थल

महिनावारी बिदा केही व्यक्तिका लागि आवश्यक राहत हुन सक्छ। तर बिदालाई नै सम्पूर्ण समाधान ठान्नु हुँदैन।
कार्यस्थल महिनावारीमैत्री हुनुपर्छ। सफा शौचालय, पानी, menstrual products, सुरक्षित फोहोर व्यवस्थापन, आवश्यक पर्दा आराम गर्ने ठाउँ तथा कामको प्रकृतिअनुसार flexible hours वा work-from-home जस्ता विकल्प उपयोगी हुन सक्छन्।
सबैभन्दा महत्त्वपूर्ण कुरा—महिनावारी भएकै कारण महिलालाई कमजोर, असक्षम वा कम उत्पादक ठान्ने सोच अन्त्य हुनुपर्छ।
सरकारले नीति ल्याएपछि त्यसको प्रभाव पनि मापन गर्नुपर्छ। बिदा सहज भयो कि भएन ? गोपनीयता कायम भयो कि भएन? नियुक्ति, जिम्मेवारी वा पदोन्नतिमा अप्रत्यक्ष असर पर्‍यो कि परेन? निजी र अनौपचारिक क्षेत्रका श्रमिकसम्म सुविधा पुग्यो कि पुगेन? यस्ता प्रश्नको नियमित समीक्षा आवश्यक छ।

महिनावारी बिदा कसैका लागि राहत हुन सक्छ, कसैका लागि आवश्यक नहुन सक्छ। त्यसैले यसलाई न अन्ध समर्थन गर्नुपर्छ, न अन्ध विरोध।

कस्तो व्यवस्थाले स्वास्थ्य, समानता, गोपनीयता र आत्मसम्मान एकसाथ जोगाउँछ ?

छाउगोठ नबनाऔँ, कार्यालयमा पनि अदृश्य छाउगोठ नबनाऔँ।
सरकारी कर्मचारीलाई मात्र सुविधा दिएर नरोकियौ। निजी र अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि श्रम अधिकारको घेराभित्र ल्याऔँ। कार्यस्थलमा पानी, शौचालय, menstrual products, आराम, लचकता र गोपनीयताको व्यवस्था गरौँ।
महिनावारीले महिलालाई अशुद्ध बनाउँदैन। महिनावारीको पीडाले उनलाई कमजोर बनाउँदैन। र आवश्यक सुविधाले पनि उनलाई दोस्रो दर्जाको नागरिक बनाउनु हुँदैन।
छाउगोठ भत्काउनु अघिल्लो पुस्ताको संघर्ष थियो। अब मनभित्र र संस्थाभित्र बनेका अदृश्य छाउगोठ भत्काउनु हाम्रो पालो हो।
महिनावारी बिदालाई अन्तिम उपलब्धि होइन, मर्यादित महिनावारी तर्फको एउटा सम्भावित साधनका रूपमा हेरौँ। धन्यवाद !

(लेखक दिपायल सिलगढी ६ सिलगाउँ, डोटीका बासिन्दा हुनुहुन्छ । उहाँ सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको छ ।)

Leave A Reply

Your email address will not be published.