सुदूरपश्चिम प्रदेश अर्थमन्त्री बोहरा अछामको बाढी प्रभावित क्षेत्रमा (फोटो फिचर)
झलक पाली
भाद्र ९, डोटी ।
यहि भाद्र २ गते राती करिब १२ बजेको समयमा अछामको रामारोशन गाउँपालिका ५ सैनीबजारमा अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढिले अकल्पनीय क्षेती गरेको छ । बाढिले २२ घर बगायो, १७ जना मानिस वेपत्ता भए । जसमध्ये यो समाचार तयार पार्दासम्म ८ जनाको शव फेला परेको छ भने बाँकी ९ जना अँझै वेपत्ता छन् । खोजी कार्य जारी रहेको छ ।
यसै घटनाको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा ३ दिनदेखि स्थलगत निरीक्षणमा छन् ।

यो समाचार तयार पार्दैगर्दा मन्त्री बोहराका प्रमूख स्वकिय सचिव आदर्श साउँदसँग टेलिफोन सम्पर्क गर्दा मन्त्री ज्यूको टोली बाढी प्रभावित क्षेत्रमै रहेको छ ।
धनगढीबाट राहत बोकेर शनिबार अछाम पुगेका मन्त्री बोहराले प्रभावित क्षेत्रका नागरिकका लागि ३ लाख ६२ हजार बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री रामारोशन गाउँपालिकालाई हस्तान्तरण गरिसकेका छन् ।
अकल्पनीय र दुःखद उक्त घटनाबाट थप क्षतीमा अन्दाजी २२ वटा घर, भैसी १ वटा, बाख्रा अन्दाजी २० वटा, कुखुरा र हाँस अन्दाजी १०० वटा, नेपाल टेलिकमको बलेरो जिप–१ वटा, रामारोशन गाउँपालिका ६ को स्वस्थ्यचौकीद्वारा सञ्चालित एम्बुलेन्स १ वटा र कैलाश प्रथम लघुजलविद्युत भवन बगाई क्षति भएको, करिब ५० हजार रोपनी खेती मासिएको, पुल, बाटोघाटोहरु बगाएको छ । सडकहरू अवरुद्ध छन् । अनुगमन गर्नका लागी जान समेत मुश्किल छ ।
बाढीले क्षतविक्षत ठाउँमा मन्त्री बोहरा भने हाप पाइन्ट र चप्पल लगाउँदै लठ्ठी टेकेर जोखिम र साहसका साथ जनताको दुःखमा साथ दिन पुगेका छन् ।

कठिन परिस्थितीमा उनले गरेको निरिक्षणका फोटोहरु सामाजिक सञ्जालतिर प्रशंसनीय रुपमा भाईरल भईरहेका छन् ।
यो विपत्तीमा जनतासँगै रहेर काम गर्ने जनप्रतिनिधिका रुपमा मन्त्री बोहराको प्रसंशा भईरहेको हो ।

उनले आफ्नो फेसबुक पेजमार्फत पनि स्थलगत अवस्थाबारे जानकारी पनि दिइरहेका छन् ।
घटनाका पीडितलाई सहयोगका लागि आफुले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
यस घटनाको संघीय सरकारका गृहमन्त्री राम बहादुर थापा बादलले पनि स्थलगत निरिक्षण गरिसकेका छन् ।

घटना निकै दुःखद भएको र यस विषम परिस्थितिमा सरकारले सक्दो संवोधन गरेको प्रेस संगठन नेपालका केन्द्रिय अनुशासन आयोग सदस्य टेकराज भण्डारीले बताए ।
संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका साथै सामाजिक संघसँस्थाले खाद्यान्न, आर्थिक, भौतिक र मानवीय रुपमा गरेको सहयोगले पनि भण्डारीले खुलेर प्रशंसा गरेका छन् ।
बाढीले पु¥याएको क्षतिको पूर्ण विवरण ५ दिनभित्र सार्वजनिक हुने रामारोशन गाउँपालिकाले जनाएको छ ।


