ऐतिहासिक डोटी दरबार र दुधेश्वर जोड्ने पर्यटकीय पुलको शिलान्यास
पुस ५, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. २ मा रहेको तत्कालीन डोटेली राजाको दरबार अर्थात कोट भैरव र वडा नं. ५ मा रहेको यस क्षेत्रको महत्वपूर्ण धार्मीक पर्यटकीय क्षेत्र दुधेश्वर जोड्ने पर्यटकीय झोलुङ्गे पुलको सोमबार शिलान्यास गरिएको छ ।
दिपायल सिलगढी नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको साझेदारीमा देवभूमि कन्स्ट्रक्शन डडेल्धुराले निर्माण गर्न लागेको उक्त झोलुङ्गे पुलको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गरेका हुन् ।
कूल ९६ लाख ३९ हजार ७ सय ५८ रुपैंया ८० पैंसाको लागतमा जमीनको सतहदेखि ७० मिटर उचाईमा २ सय मिटर लामो पुल निर्माण हुन लागेको हो ।
जसमा पुलको लट्ठा र बुलडग ट्राइल ब्रिज सपोर्ट युनिट/हेल्भेटास नेपाल सु.प. क्लष्टर डडेल्धुराबाट सहयोग रहने योजना सूचनापाटीमा उल्लेख छ ।

दैनिक आवत जावतका लागि नभई पर्यटकीय आकर्षण र पर्यटकको आवतजावत सहजताका लागि सो पुल निर्माण गर्न दिपायल सिलगढी नगरपालिकाले देवभूमि कन्स्ट्रक्शनसँग वि.सं. २०७८ असार १७ देखि २०७९ असार १५ गतेसम्मको समयावधीका लागि सम्झौता गरेको छ ।
पुलको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले ऐतिहासिक डोटेली राजाको दरबार र दुधेश्वर लगाएत दिपायलका पर्यटकीय क्षेत्रको विकास गरेमा पर्यटकीय हब बन्नसक्ने बताए । जहाँको विकासका लागि दिपायल सिलगढी नगरपालिकाले गरेको प्रयासको प्रशंसा गर्दै बजेट अभाव भएमा सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

ऐतिहासिक र धार्मिक महत्व बोकेका महत्वपूर्ण क्षेत्रहरुको विकास र पर्यटकको आकर्षण बढाउन पर्यटकीय झोलुङ्गे पुल निर्माण गर्न लागिएको दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले बताईन् ।
यहाँको प्रमूख धार्मीक क्षेत्र बासुधारा, कोट भैरव, दुधेश्वर हुँदै शैलेश्वरी दर्शन गर्न सजिलो हुने गरी नगरपालिकाले झोलुङ्गे पुल निर्माण गर्न लागेको उनले बताईन् ।
साथै ऐतिहासिक प्राचिन पर्यटकीय महत्व बोकेको डोटी गनै गौणा, अर्थात डोटेली राजाको दरबार रहेको कोट भैरव क्षेत्रमा संग्रहालय निर्माण गर्ने योजना पनि रहेको उनले बताईन् ।
पुल निर्माणस्थलको बिचमा नेपाल विद्युत प्राधिकरणको मूख्य प्रसारण लाईन पर्ने भएकाले सोको व्यवस्थापन समयमै भएमा सम्झौता अवधीभन्दा छिट्टै पुल निर्माण कार्य सम्पन्न गर्न सकिने निर्माण कम्पनी देवभूमि कन्स्ट्रक्शनका सञ्चालक डम्बर भट्टले बताए ।
पुलको शिलान्यास कार्यक्रममा दिपायल सिलगढी नगरपालिका उप–प्रमूख शिवराज खड्का, डोटीका प्रमूख जिल्ला अधिकारी शंकर बिष्ट लगाएत विभिन्न सुरक्षा निकायका प्रमूख एवं प्रतिनिधी, राजनीतिक दलका प्रमूख एवं प्रतिनिधी, विभिन्न जनप्रतिनिधीहरु, पत्रकारहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
